उत्तर कोरियाद्वारा शक्तिशाली मिसाइल इन्जिन परीक्षण, अमेरिकासम्म प्रहार गर्ने तयारी
- १५ चैत्र २०८२
- १ मिनेटको पढाई
सियोल– उत्तर कोरियाले आफ्नो सैन्य क्षमता विस्तार गर्ने क्रममा उच्च–थ्रस्ट भएको नयाँ ठोस इन्धनयुक्त क्षेप्यास्त्र इन्जिनको सफल परीक्षण गरेको छ। यस परीक्षणलाई अमेरिकाको मुख्य भूमिसम्म प्रहार गर्न सक्ने मिसाइल विकास गर्ने उत्तर कोरियाली लक्ष्यको महत्त्वपूर्ण कडीका रूपमा हेरिएको छ।
उत्तर कोरियाली नेता किम जोङ उनले आफैँ उपस्थित भएर उक्त इन्जिन परीक्षणको अवलोकन गरेका छन्। सरकारी समाचार एजेन्सी ‘केसिएनए’ का अनुसार यो इन्जिन उन्नत ‘कम्पोजिट कार्बन फाइबर’ सामग्रीबाट बनेको छ, जसको क्षमता २ हजार ५०० किलोटन पुगेको छ। यसअघि सेप्टेम्बरमा गरिएको परीक्षणभन्दा यो निकै शक्तिशाली मानिएको छ।
किन खतरनाक छ यो प्रविधि?
ठोस इन्धन प्रयोग हुने मिसाइलहरू तरल इन्धनको तुलनामा निकै छिटो प्रक्षेपण गर्न सकिन्छ र यिनीहरूलाई पहिल्यै पत्ता लगाउन कठिन हुन्छ। विज्ञहरूका अनुसार इन्जिनको क्षमता बढेपछि अब एउटै मिसाइलमा धेरै वटा हतियार (वारहेड) राख्न सकिनेछ, जसले शत्रुको प्रतिरक्षा प्रणालीलाई सजिलै छल्न सक्छ।
नेता किमले यो परीक्षणसँगै उत्तर कोरियाको रणनीतिक शक्ति नयाँ उचाइमा पुगेको दाबी गरेका छन्। उनले हालैको संसद सम्बोधनमा आफ्नो देशको आणविक हैसियत अब ‘अपरिवर्तनीय’ भइसकेको समेत बताएका थिए। सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता असफल भएपछि उत्तर कोरियाले आफ्नो सैन्य आधुनिकीकरण योजनालाई अझ आक्रामक रूपमा अघि बढाइरहेको छ।
यद्यपि, केही अन्तर्राष्ट्रिय विज्ञहरूले भने मिसाइललाई वायुमण्डलमा पुनः प्रवेश गराउँदा हुने अत्यधिक तापबाट जोगाउने प्राविधिक चुनौती उत्तर कोरियाले अझै पार गर्न बाँकी रहेको तर्क गरेका छन्।