२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

गृहमन्त्रीद्वारा प्रहरी प्रधान कार्यालय निरीक्षण: निर्धक्क भएर काम गर्न निर्देशन

गृहमन्त्रीद्वारा प्रहरी प्रधान कार्यालय निरीक्षण: निर्धक्क भएर काम गर्न निर्देशन

काठमाडौँ-  गृहमन्त्री सुधन गुरुङले प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरी कर्मचारीहरूलाई निर्धक्क भएर काम गर्न निर्देशन दिएका छन्। सोमबार कार्यालय पुगेका उनलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्की र अन्य उच्च अधिकारीले स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले कम साधनस्रोत हुँदा पनि प्रहरीले उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे। उनले काममा कतैबाट पनि हस्तक्षेप नहुने भन्दै ढुक्क भएर जिम्मेवारी पूरा गर्न आग्रह गरे। प्रहरी र नागरिकबीचको दूरी कम गर्न मीठो बोली र राम्रो व्यवहार गर्नुपर्नेमा उनले जोड दिए।

विपद् व्यवस्थापनमा प्रहरी सधैँ अगाडि खटिने भएकाले आवश्यक तालिम र स्रोतसाधन थपिने मन्त्री गुरुङले बताए। उनले प्रहरीको बढुवा र अवसरहरू कामको मूल्याङ्कनका आधारमा हुने स्पष्ट पारे।

कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठले चुनाव शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा प्रहरीलाई धन्यवाद दिए। प्रहरी महानिरीक्षक कार्कीले प्रहरी सधैँ कानुन र मानवअधिकारको पालना गर्दै नागरिकको सेवामा लागिरहेको बताए। सो अवसरमा गृहमन्त्री गुरुङले कार्यालयको तथ्याङ्क केन्द्रको पनि अवलोकन गरेका थिए।