२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

सिरियामा विश्वकै ठूलो विस्थापन संकट: डेढ करोड मानिसलाई सहयोगको खाँचो

सिरियामा विश्वकै ठूलो विस्थापन संकट: डेढ करोड मानिसलाई सहयोगको खाँचो

न्युयोर्क- सिरियाले विश्वकै सबैभन्दा ठूलो विस्थापन संकट झेलिरहेको संयुक्त राष्ट्र संघका अधिकारीहरूले बताएका छन्। राष्ट्र संघका अनुसार त्यहाँ ५५ लाख मानिस आफ्नो थातथलोबाट विस्थापित भएका छन् भने १ करोड ३३ लाख मानिसलाई खानको समस्या छ। त्यसमध्ये पनि ७२ लाख मानिस चरम भोकमरीको मारमा छन्।

बिहीबार भएको पत्रकार सम्मेलनमा राष्ट्र संघका उप–महासचिव टम फ्लेचर र विकास कार्यक्रमका प्रशासक अलेक्जेन्डर डी क्रुले सिरियालाई निरन्तर सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे। फ्लेचरले लामो युद्धले गर्दा त्यहाँको अवस्था अझै डरलाग्दो रहेको बताए। उनले विश्वभर सहयोग रकम कटौती हुँदा मानवीय उद्धारका कामहरू प्रभावित भएको पनि जानकारी दिए।

यस वर्ष सिरियामा १ करोड ५६ लाख मानिसलाई मानवीय सहयोग चाहिने राष्ट्र संघको अनुमान छ। यसका लागि सन् २०२६ मा झन्डै २ अर्ब ९० करोड डलर आवश्यक पर्नेछ। यसैबीच, राष्ट्र संघका अधिकारीहरूले सिरियाका अन्तरिम नेता अहमद अल–शारा र अन्य अधिकारीहरूसँग भेटेर राहत र पुनर्निर्माणका विषयमा छलफल गरेका छन्।