वैदेशिक रोजगार विभागले हटायो टोकन प्रणाली, अब एकै दिनमा श्रम स्वीकृति
- २० चैत्र २०८२
- १ मिनेटको पढाई
काठमाडौं- वैदेशिक रोजगार विभागले टोकन प्रणाली खारेज गर्दै एकै दिनमा श्रम स्वीकृति दिने व्यवस्था सुरु गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै विभागकी महानिर्देशक मिरा आचार्यले यस्तो जानकारी दिएकी हुन्। श्रमिकको हितलाई ध्यानमा राखेर काम छिटोछरितो गर्न यो कदम चालिएको उनले बताइन्।
अब म्यानपावर कम्पनीले अन्तर्वार्ता लिँदा अनिवार्य रूपमा नेपाली भाषा वा नेपाली र अंग्रेजी दुवै भाषा भएको फारम प्रयोग गर्नुपर्नेछ। श्रमिकले नबुझी अंग्रेजी फारममा हस्ताक्षर गर्नुपरेको गुनासो आएपछि यस्तो नियम ल्याइएको हो। अटेर गर्नेलाई कानुनअनुसार कारबाही गरिने विभागले जनाएको छ। त्यस्तै, विदेश जानुअघि दिइने तालिमको शुल्क ७ सय रुपैयाँ मात्र तोकिएको र बढी रकम लिएमा संस्थाको अनुमति रद्द गरिने आचार्यले प्रस्ट पारिन्।
कर्मचारीको काम पारदर्शी बनाउन कार्यालयका कोठाहरूमा क्यामेरा जडान गरेर महानिर्देशकको कार्यकक्षबाटै निगरानी गर्न थालिएको छ। बिना अनुमति वैदेशिक रोजगारसम्बन्धी काम गर्ने र उद्धारका नाममा ठगी गर्नेलाई पनि कडा कारबाही हुने चेतावनी विभागले दिएको छ।
चालु आर्थिक वर्षमा ठगीमा परेका सयौं उजुरी समाधान गरी विभागले सात करोडभन्दा बढी रकम र राहदानीहरू पीडितलाई फिर्ता गराएको छ। साथै, सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने मैत्री ओभरसिजलाई सचेत गराइएको छ भने ठगी गर्ने एपेक्स एचआर कन्सल्टेन्सीलाई ५० हजार जरिवानासहित कारोबार रोक्का गरिएको छ।