२४ जेष्ठ २०८३, आइतवार
7 June 2026, Sunday

सेनेगलमा ६६औं स्वतन्त्रता दिवस मनाइयो, डकारबाहिर पहिलोपटक भव्य कवाज

सेनेगलमा ६६औं स्वतन्त्रता दिवस मनाइयो, डकारबाहिर पहिलोपटक भव्य कवाज

न्युयोर्क- सेनेगलले देशभर विविध कार्यक्रम गरी आफ्नो ६६औं स्वतन्त्रता दिवस मनाएको छ। यस अवसरमा राजधानी डकारभन्दा करिब ७० किलोमिटर पूर्वमा रहेको थाइस सहरमा राष्ट्रपति बासिरु डियोमाये फायेको अध्यक्षतामा भव्य नागरिक-सैनिक कवाज भयो।

डकारबाहिर यस्तो समारोह आयोजना गर्ने थाइस पहिलो सहर हो। विस्तारै अरू क्षेत्रीय सहरहरूमा पनि यस्ता कार्यक्रम गरेर ती सहरको विकास गर्ने सरकारको लक्ष्य छ।

यस वर्षको स्वतन्त्रता दिवसको नारा ‘डकार २०२६ युवा ओलम्पिक खेलकुद सफल बनाउन रक्षा र सुरक्षा बलको भूमिका’ तय गरिएको थियो। यो ओलम्पिक आगामी अक्टोबर ३१ देखि नोभेम्बर १३ सम्म सेनेगलमा हुँदैछ, जुन अफ्रिका महादेशमै आयोजना हुने पहिलो ओलम्पिक हो।

कवाजमा ३ हजार ३ सयभन्दा बढी सेना तथा प्रहरी र करिब १ हजार ३ सय नागरिक सहभागी थिए। प्रदर्शनमा ११ वटा विमान, २६५ वटा गाडी, १०६ वटा मोटरसाइकल, डुङ्गा र घोडचढी दस्तासमेत समावेश थिए।

समारोहमा बोल्दै राष्ट्रपति फायेले भव्य कवाजको प्रशंसा गरे। उनले नागरिक र सुरक्षा बलबीचको बलियो एकताको तारिफ गर्दै यो उत्सव राष्ट्रिय मेलमिलाप र एकताको क्षण भएको बताए। साथै, ओलम्पिक खेलकुदको प्रसङ्ग जोड्दै उनले सेनेगलले आफ्नो परम्परागत सत्कार र मानवताको भावनासहित खेलकुद जगत्‌लाई स्वागत गर्न तयार रहेको बताए।