इरानलाई अमेरिकाको चेतावनी: वार्तामा आऊ, नत्र थप आर्थिक संकट भोग्न तयार होऊ
- २५ चैत्र २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानविरुद्ध अमेरिकाले आफ्ना सैन्य उद्देश्य धेरै हदसम्म पूरा गरेको बताएका छन्। मंगलबार हंगेरीको बुडापेस्टमा बोल्दै उनले इरानलाई वार्तामा आउन वा थप आर्थिक संकट भोग्न तयार रहन चेतावनी दिए।
अमेरिकाले इरानको खार्ग टापुस्थित सैन्य अखडाहरूमा आक्रमण गरेको तर ऊर्जा पूर्वाधारलाई भने निशाना नबनाएको उनले स्पष्ट पारे। वार्ताको जवाफ दिन अमेरिकाले इरानलाई राति ८ बजेसम्मको समयसीमा दिएको उनले जानकारी दिए। इरानको हतियार उत्पादन क्षमता रोक्ने प्रयास अमेरिकाले जारी राख्ने उनको भनाइ छ।
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँगको संयुक्त पत्रकार सम्मेलनमा भान्सले ऊर्जा सुरक्षामा हंगेरीसँग बलियो सहकार्य गर्ने बताए। हंगेरीको नीतिलाई लिएर दबाब दिने युरोपेली अधिकारीहरूको आलोचना गर्दै उनले हंगेरीको ऊर्जा नीतिको समर्थन गरे। पश्चिमी युरोपका अरू देशमा भन्दा हंगेरीमा ऊर्जा सस्तो रहेको उनको दाबी थियो। सस्तो रुसी इन्धनको प्रयोग गरिरहेको हंगेरीको नीतिले युरोपभरिकै ऊर्जा सुरक्षा बलियो बनाउन मद्दत गर्ने भान्सले बताए।
सोही क्रममा प्रधानमन्त्री ओर्बानले अमेरिका र हंगेरीबीच व्यापार, अन्तरिक्ष र रक्षा क्षेत्रमा सम्बन्ध बलियो भएको बताए। युरोपमा गहिरो ऊर्जा संकट आउन सक्ने र मूल्य बढ्न सक्ने चेतावनी दिँदै उनले यस क्षेत्रमा दुई देशको सहकार्य महत्त्वपूर्ण हुने उल्लेख गरे। युक्रेन युद्धको सन्दर्भमा ओर्बानले कूटनीतिक समाधान खोज्नुपर्ने र शान्ति प्रयासलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।