स्पेनमा लाखौं आप्रवासीलाई वैधानिक हैसियत दिने नयाँ नियम पारित
- ०१ बैशाख २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- स्पेन सरकारले मंगलबार लाखौं गैरकानुनी आप्रवासीलाई वैधानिक हैसियत दिने नियम पारित गरेको छ। यो नियम लागू भएसँगै स्पेनमा लुकेर काम गरिरहेका आप्रवासीले कानुनी मान्यता पाउने बाटो खुलेको छ।
अन्य युरोपेली देश र अमेरिकाले आप्रवासीलाई कडाइ गरिरहँदा स्पेनले भने यो फरक कदम चालेको हो। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले यसलाई ‘न्याय र आवश्यकता’ भनेका छन्। उनले स्पेनमा बसिरहेका र काम गरिरहेका मानिसले समान अधिकार पाउनुपर्ने र कर तिर्नुपर्ने बताए। सान्चेजले अधिकार दिएपछि उनीहरूबाट दायित्व पनि खोजिने प्रष्ट पारेका छन्।
सरकारका अनुसार करिब ५ लाखदेखि ८ लाख आप्रवासी यो नियमबाट लाभान्वित हुनेछन्। खासगरी ल्याटिन अमेरिका र अफ्रिकाबाट आएर कृषि, पर्यटन र सेवा क्षेत्रमा काम गरिरहेकाहरूलाई यसले फाइदा पुग्नेछ।
आप्रवासन मन्त्री एल्मा साइजका अनुसार योग्य आप्रवासीले एक वर्षको लागि बस्ने र काम गर्ने अनुमति पाउनेछन्। यसका लागि आगामी बिहीबारदेखि अनलाइनमार्फत र अप्रिल २० गतेदेखि कार्यालयमै गएर आवेदन दिन सकिनेछ।
यो सुविधा पाउन आप्रवासीहरू सन् २०२६ को जनवरी १ भन्दा अघि नै स्पेन पुगेको हुनुपर्नेछ। कम्तीमा ५ महिनादेखि स्पेनमा बसेको प्रमाण पेश गर्नुपर्नेछ र उनीहरूको कुनै आपराधिक रेकर्ड हुनु हुँदैन। स्पेनले यसअघि पनि सन् १९८६ देखि २००५ को बीचमा ६ पटकसम्म यसरी नै आप्रवासीलाई कानुनी मान्यता दिएको थियो।