२१ भदौ २०८३, आइतवार
6 September 2026, Sunday

अमेरिकाबाट डिपोर्ट हुने धेरैजसो दाङ र रुकुमका, तस्करको जालो गाउँमै

अमेरिकाबाट डिपोर्ट हुने धेरैजसो दाङ र रुकुमका, तस्करको जालो गाउँमै

काठमाडौं- अमेरिकाले गैरकानुनी रूपमा प्रवेश गरेका नेपालीहरूलाई डिपोर्ट (देशनिकाला) गर्ने क्रम बढाएको छ। सन् २०२५ को पहिलो नौ महिनामा मात्र अमेरिकाले ३९६ जना नेपालीलाई डिपोर्ट गरेको छ। यसरी फर्काइएकामध्ये धेरैजसो मानवतस्करको प्रलोभनमा परेर अवैध बाटो हुँदै अमेरिका पुगेका थिए।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार डिपोर्ट हुनेमा ७० प्रतिशतभन्दा बढी मानिस दाङ, रुकुम पश्चिम, रुकुम पूर्व, पर्वत लगायतका आठवटा जोडिएका जिल्लाका छन्। तथ्यांक हेर्दा सबैभन्दा धेरै दाङका १०४ जना, रुकुम पश्चिमका ६७ जना र रुकुम पूर्वका ३६ जना फर्काइएका छन्।

ब्युरोका प्रमुख एसएसपी कृष्णप्रसाद पंगेनीले गाउँको एकजना व्यक्ति अमेरिका पुगेपछि उसैले अरूलाई पनि तान्ने गरेका कारण एउटै क्षेत्रका धेरै मानिस तस्करको फन्दामा परेको बताए। गाउँमा सामान्य व्यवसाय गर्न ऋण नपत्याउनेहरू अमेरिका जान भने करोडौँ बुझाउन तयार हुने र एजेन्ट पनि आफ्नै गाउँघरको हुने भएकाले यस्तो अवस्था आएको उनले बताए।

मानवतस्करहरूले नेपालीहरूलाई दुबई वा नयाँदिल्ली हुँदै ब्राजिल वा बोलिभिया पुर्‍याएर महिनौँसम्मको जोखिमपूर्ण जंगलको बाटो हिँडाएर अमेरिका लैजाने गरेका छन्। डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि गैरकानुनी आप्रवासीमाथि निकै कडाइ गरेका छन्। अहिले अवैध बाटोबाट जाने क्रम रोकिएको छ भने बिनाभिसा लुकेर बसेकाहरूलाई अमेरिकाले निरन्तर चार्टर विमानमार्फत नेपाल फर्काइरहेको छ।