२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

२०७२ को महाभूकम्प: क्षणभरमै खण्डहर बनेको देश र विस्तारै तंग्रिएको समाज

२०७२ को महाभूकम्प: क्षणभरमै खण्डहर बनेको देश र विस्तारै तंग्रिएको समाज

न्युयोर्क- २०७२ साल वैशाख १२ गते शनिबारको दिन थियो। दिउँसो ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गयो। शनिबार बिदाको दिन भएकाले धेरै मानिस घरमै थिए। क्षणभरमै काठमाडौंसहित मध्य र पूर्वी नेपालका गाउँ र सहर खण्डहरमा परिणत भए।

यस महाविपत्तिमा परी ८ हजार ९ सय ६४ जनाले ज्यान गुमाए भने २२ हजार ३ सय ९ जना घाइते भए। गाउँदेखि सहरसम्म करिब ८ लाख भन्दा बढी निजी घर पूर्ण वा आंशिक रुपमा भत्किए। हजारौं विद्यालय, स्वास्थ्य चौकी र सरकारी भवनहरु माटोमा मिसिए। काठमाडौं उपत्यकाको चिनारी मानिने धरहरा, काष्ठमण्डप लगायत वसन्तपुर, पाटन र भक्तपुरका सयौं वर्ष पुराना ऐतिहासिक धरोहरहरु ढले।

वैशाख १२ को मुख्य झट्काले दिएको त्रास नसकिँदै महिनौंसम्म लगातार पराकम्पनहरु आइरहे। लाखौं मानिसहरु त्रसित हुँदै सडक र खुला चौरमा पाल टाँगेर रात काट्न बाध्य भए। विशेषगरि वैशाख २९ गते दोलखाको सुनखानी केन्द्रविन्दु भएर ७.३ म्याग्निच्युडको अर्को शक्तिशाली पराकम्पन गयो। यसले थप सयौंको ज्यान लियो र अघिल्लो भूकम्पले चर्किएर बसेका संरचनाहरुलाई पूर्ण रुपमा लडायो।

भूकम्प गएलगत्तै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय सर्वसाधारण उद्धारमा खटिए। उनीहरुले भग्नावशेषमा पुरिएका धेरै मानिसको जीवितै उद्धार गरे। लगत्तै छिमेकी देश भारत, चीन लगायत विश्वभरबाट विशेषज्ञ उद्धार टोली र राहत सामग्री नेपाल आइपुग्यो।

यस विपत्तिले देशको अर्थतन्त्रमा ठूलो धक्का दियो। पर्यटन, कृषि र व्यापार क्षेत्र नराम्ररी प्रभावित भए। भूकम्पको केही समयपछि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बनाएर पुनर्निर्माणको काम अघि बढायो। अहिले धेरैजसो निजी घर, विद्यालय, अस्पताल र धरहरा जस्ता ऐतिहासिक सम्पदाहरु फेरि ठडिएका छन्। भूकम्पले दिएको गहिरो घाउ बिर्सेर नेपाली समाज विस्तारै आफ्नै लयमा फर्किएको छ।