आगामी बजेटका प्राथमिकता संसद्मा पेस: प्रविधि, कृषि र पूर्वाधारमा जोड
- ०१ जेष्ठ २०८३
- २ मिनेटको पढाई
काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका प्राथमिकता संसद्मा पेस गरेका छन्। बिहीबार दुवै सदनको बैठकमा उनले सूचना प्रविधिको भरपुर उपयोग गर्दै आर्थिक विकासको नयाँ आधार तयार पार्ने योजना सुनाए।
अर्थमन्त्री वाग्लेले सरकारी सेवालाई छिटो र सजिलो बनाउन विद्युतीय प्रणाली लागू गर्ने बताए। अब व्यवसाय दर्तादेखि कर तिर्ने र नियमन गर्ने सबै काम प्रविधिको माध्यमबाट हुनेछन्। नागरिकले लाइन बस्नुपर्ने झन्झट हटाउन अत्यावश्यक सेवा सातै दिन दिने र सम्पूर्ण सरकारी सुविधाहरूलाई एउटै प्रणालीमा ल्याउने सरकारको तयारी छ।
बजेटले कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिलाई आर्थिक विकासको मुख्य आधार मानेको छ। कृषिलाई आधुनिकीकरण गर्दै साना किसानलाई जोगाउने र ठूलो मात्रामा व्यावसायिक खेती गर्ने योजना छ। खाद्यान्नको न्यूनतम मूल्य तोक्ने र किसानलाई बजार तथा बीमामार्फत सुरक्षित गर्ने नीति सरकारले लिएको छ।
लामो समयदेखि अलपत्र परेका ठूला आयोजना चाँडै सक्ने कुरालाई पनि प्राथमिकतामा राखिएको छ। सडक, सिँचाइ र ऊर्जाका आयोजनामा लगानी बढाउने र निजी क्षेत्रलाई पनि आकर्षित गर्ने अर्थमन्त्रीले बताए। ठूला सहरी क्षेत्रमा सार्वजनिक यातायात सुधार्ने र काठमाडौँ उपत्यकासहित मुख्य सहरमा व्यवस्थित यातायात प्रणाली सुरु गर्ने योजना पनि छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि ठूलो सुधार गर्ने सरकारको लक्ष्य छ। शिक्षालाई सीप र रोजगारीसँग जोड्ने, सार्वजनिक र निजी विद्यालयको गुणस्तर एउटै बनाउने नीति बजेटको प्राथमिकतामा छ। अस्पतालहरूको सेवा सुधार्दै स्वास्थ्य बीमालाई सबैको पहुँचमा पुग्ने गरी सजिलो बनाउने योजना रहेको वाग्लेले सुनाए।
यसैगरी, पछाडि परेका क्षेत्र र समुदायलाई विकासको मूल प्रवाहमा ल्याउने सरकारको योजना छ। कर्णाली, मधेस र सुदूरपश्चिम जस्ता क्षेत्रलाई राहत मात्र होइन, विकासको केन्द्र नै बनाउने मन्त्री वाग्लेले दाबी गरे। विदेशमा रहेका नेपालीको ज्ञान र पुँजीलाई देश विकासमा लगाउने र विदेशी लगानी भित्र्याउन कूटनीतिक पहल गर्ने कुरा पनि बजेटको प्राथमिकतामा समेटिएको छ।