न्युयोर्कमा आप्रवासीलाई जोगाउन नयाँ कानुन लागू, विद्यार्थी र आप्रवासीको अधिकार बलियो
- १६ जेष्ठ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्ककी गभर्नर क्याथी होचुलले आप्रवासीहरूलाई सुरक्षा दिने नयाँ कानुनमा हस्ताक्षर गरेकी छन्। सन् २०२७ को बजेट अन्तर्गत ल्याइएको यो कानुनले आप्रवासी र विद्यार्थीहरूको अधिकारलाई निकै बलियो बनाएको छ। गभर्नर होचुलले यो कानुनले न्युयोर्कका बासिन्दालाई संघीय अध्यागमनको अनावश्यक कारबाहीबाट जोगाउने बताइन्। उनले अध्यागमनले गर्ने शक्तिको दुरुपयोग न्युयोर्कमा अब सह्य नहुने चेतावनी दिइन्।
नयाँ कानुन अनुसार स्थानीय प्रहरीले अब अध्यागमनको काम गर्न पाउने छैनन्। उनीहरूको मुख्य काम स्थानीय अपराध रोक्ने र शान्ति सुरक्षा कायम गर्ने मात्र हुनेछ। स्थानीय सरकारले अध्यागमन बन्दीगृहलाई आर्थिक सहयोग गर्न पनि पाउने छैनन्। यसैगरी ड्युटीमा रहेका बेला प्रहरी र अध्यागमनका अधिकारीहरूले अनुहार छोप्ने मुकुन्डो लगाउन पाउने छैनन्। तर, सुरक्षा सामग्री, चस्मा र स्वास्थ्यका लागि लगाइने मास्क भने लगाउन छुट दिइएको छ। यदि कुनै संघीय अधिकारीले नागरिकको अधिकार हनन गरेमा उनीहरूविरुद्ध अदालतमा मुद्दा हाल्न सकिने व्यवस्था पनि गरिएको छ।
अब आप्रवासी विद्यार्थीले बिना रोकटोक सरकारी विद्यालयमा निःशुल्क पढ्न पाउनेछन्। अदालतको आदेशबिना विद्यालयले कुनै पनि विद्यार्थीलाई अध्यागमनको जिम्मा लगाउन पाउने छैन। अदालतको पुर्जीबिना अध्यागमनका अधिकारीहरू विद्यालय, अस्पताल, पुस्तकालय, पार्क, मतदान केन्द्र र आश्रयस्थल जस्ता ठाउँमा जान पाउने छैनन्। सरकारी कर्मचारीले आप्रवासीहरूको व्यक्तिगत जानकारी अध्यागमनलाई दिन पनि रोक लगाइएको छ। यो कानुन बनेसँगै न्युयोर्क आप्रवासीहरूको सुरक्षा गर्ने देशकै सबैभन्दा बलियो राज्य बनेको छ।