लिपुलेक र सीमा विवाद वार्ताबाटै टुङ्ग्याउँछौं : प्रधानमन्त्री बालेन्द्र साह
- १७ जेष्ठ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- प्रतिनिधि सभाको बैठकमा नेपालको लिम्पियाधुरा र लिपुलेक क्षेत्रमा भारत र चीनबीच भइरहेको व्यापारिक मार्ग निर्माणको विषयलाई लिएर सरकारको ध्यानाकर्षण गराइएको छ। प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद पद्मा अर्यालले नेपाललाई बाहिर राखेर दुई छिमेकी देशले गरिरहेको समझदारीप्रति सरकारको धारणा माग गरेकी थिइन्।
सांसद अर्यालको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन्द्र साहले लिपुलेक र लिम्पियाधुरासम्बन्धी विवाद समाधानका लागि नेपाल सरकारले भारतलाई औपचारिक रूपमा कूटनीतिक नोट पठाइसकेको जानकारी दिए। भारतबाट दुवै देशका विज्ञहरू सम्मिलित संयन्त्रमार्फत वार्ता गरेर समस्याको समाधान खोज्ने प्रस्ताव आएको उनले स्पष्ट पारे।
यस विषयमा बेलायत सरकारसँग पनि छलफल भइरहेको प्रधानमन्त्रीले बताए। तत्कालीन ब्रिटिस इन्डियाले नेपाल छोड्दाको समयदेखि नै सीमा समस्या कायम रहेकाले यसमा बेलायतको पनि सरोकार हुनुपर्ने नेपालको मान्यता रहेको उनको भनाइ छ।
यसैगरी, प्रधानमन्त्री साहले नेपालका तर्फबाट पनि भारतको भूमि मिचिएको पाइएको बताएका छन्। प्रधानमन्त्री भएपछि सीमासम्बन्धी नयाँ तथ्यहरू फेला परेको उल्लेख गर्दै उनले दुवै पक्षबाट सीमा अतिक्रमण भएको जानकारी दिए। भारतले नेपालको जग्गा मात्र नभई, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको तथ्य आफूले प्रधानमन्त्री बनेपछि मात्रै थाहा पाएको उनले बताए।
सीमाको यथार्थ अवस्था पत्ता लगाउन दुवै देशले संयुक्त अध्ययन गर्नुपर्नेमा उनले जोड दिए। कुन पक्षबाट कति जग्गा मिचिएको छ भन्ने विषयमा विस्तृत अध्ययन गरी मित्र राष्ट्रको हैसियतमा छलफलमार्फत मैत्रीपूर्ण ढङ्गले समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।