नवजात शिशुसहित तीन जनाको हत्या गर्ने अभियुक्त अदालतमा मुस्कुराए
- २० जेष्ठ २०८३
- १ मिनेटको पढाई
क्यालिफोर्निया- क्यालिफोर्नियामा दुई हप्ताको शिशु, शिशुकी आमा र हजुरआमाको हत्या अभियोग लागेका एक व्यक्ति अदालतमा उपस्थित हुँदा मुस्कुराएका छन्। २८ वर्षीय जोआकिन एस्कटोलाई सोमबार अदालतमा पेस गरिएको थियो। परिवारका सदस्यहरू भावुक भइरहेका बेला उनी भने इजलासमा मुस्कुराएको देखिएको थियो।
उनलाई २३ वर्षीया फाबियोला गोन्जालेज-नुनेज, उनको दुई हप्ताको छोरा माटेओ गोन्जालेज र ५४ वर्षीया सिल्भिया नुनेज-भिल्लालोबोसको छुरा प्रहार गरी हत्या गरेको आरोप छ। मृतकका आफन्तले हत्याको कारण अझै बुझ्न नसकेको र आफूहरू गहिरो शोकमा रहेको बताएका छन्।
अमेरिकी आन्तरिक सुरक्षा विभागका अनुसार मेक्सिकोका नागरिक जोआकिन सन् २०१८ मा गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए। त्यतिबेला उनलाई देश निकाला गरिएको थियो। पछि उनी फेरि लुकेर अमेरिका आए र पटकपटक पक्राउ परे। गत वर्ष जुन महिनामा मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा पक्राउ पर्दा अध्यागमन अधिकारीहरूले उनलाई नियन्त्रणमा लिन खोजेका थिए। तर, क्यालिफोर्नियाको आप्रवासीसम्बन्धी खुकुलो नीतिका कारण उनलाई अध्यागमनलाई नबुझाई छाडिएको थियो।
अमेरिकी संघीय अधिकारीहरूले क्यालिफोर्नियाको यही नीतिको कडा आलोचना गरेका छन्। यदि त्यतिबेलै उनलाई अध्यागमन अधिकारीहरूको जिम्मा लगाइएको भए यो गम्भीर अपराध रोक्न सकिने उनीहरूले बताएका छन्। अहिले तीन जनाको ज्यान गएपछि भने अध्यागमनले उनलाई आफ्नो नियन्त्रणमा राख्न फेरि पत्राचार गरेको छ।