रास्वपाको ‘निलो क्रान्ति’ धेरै टिक्दैन, अब ‘हरित क्रान्ति’ चाहिन्छ: कुलमान घिसिङ
- २२ जेष्ठ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ल्याएको ‘निलो क्रान्ति’ धेरै समय नटिक्ने दाबी गरेका छन्। शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको दिगो विकास र राजनीतिक स्थिरताका लागि ‘हरित क्रान्ति’ नै अन्तिम र भरपर्दो विकल्प भएको बताए।
घिसिङले उज्यालो नेपाल पार्टीको मुख्य उद्देश्य नै हरित क्रान्ति ल्याउनु रहेको स्पष्ट पारे। पार्टीको हरियो झण्डा र ‘चिम’ चुनाव चिह्नले पनि यसैलाई पुष्टि गर्ने उनले खुलाए। सुशासनलाई मुख्य आधार मानेर पानीको सही सदुपयोग गर्दै जलविद्युत, हरित हाइड्रोजन र हरित युरिया उत्पादन गर्नुलाई उनले हरित क्रान्तिको रूपमा अर्थ्याए।
सरकारको पछिल्लो बजेटमा पनि हरित हाइड्रोजन र युरियाका विषय अटाएकोमा उनले धन्यवाद दिए। यी कुरा आफ्नो पार्टीले पहिल्यै घोषणापत्रमा राखिसकेको उनले स्मरण गराए। उज्यालो नेपाल पार्टी अब सुशासन र हरित क्रान्तिकै बाटोमा अघि बढ्ने घिसिङले प्रतिबद्धता जनाए।