२३ जेष्ठ २०८३, शनिबार
6 June 2026, Saturday

हिरासतमुक्त भएका आप्रवासीको मृत्युको विवरण आइसले नराख्ने

हिरासतमुक्त भएका आप्रवासीको मृत्युको विवरण आइसले नराख्ने

न्युयोर्क- अमेरिकी अध्यागमन तथा भन्सार निकाय (आइस) ले हिरासतबाट छुटेका आप्रवासीहरूको मृत्युको विवरण राख्ने नीति हटाएको छ।

यसअघिको नीतिअनुसार हिरासतबाट मुक्त भएको ३० दिनभित्र कसैको मृत्यु भएमा आइसले त्यसको समीक्षा र रिपोर्ट गर्नुपर्थ्यो। तर, अब हिरासत बाहिर रहेका व्यक्तिको मृत्यु भएमा आइस जिम्मेवार नहुने अमेरिकाको आन्तरिक सुरक्षा विभागले बताएको छ। हिरासत छोडेको हप्तौँपछि हुने मृत्युको जिम्मा लिन नसकिने विभागको भनाइ छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले पद सम्हालेयता आप्रवासीमाथि कडा नीति लिएका छन्। गत वर्षदेखि हालसम्म आइसको नियन्त्रणमा रहेका झण्डै ५० जनाको ज्यान गइसकेको छ। जसमा यो वर्ष मात्रै १८ जनाको मृत्यु भएको छ। गत वर्ष दुई दशकयताकै सबैभन्दा धेरै आप्रवासीको मृत्यु भएको थियो र यो वर्ष त्यो सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ।

हिरासतमा हुने धेरै मृत्युलाई बेलैमा रोक्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन्। तर, आन्तरिक सुरक्षा विभाग र ठेकेदार कम्पनीहरूले हिरासतभित्र दिइने स्वास्थ्य उपचारबारे जानकारी खुलाउन मानेका छैनन्। यद्यपि, हिरासतभित्र हुने मृत्युको जानकारी दिन भने आफूहरू प्रतिबद्ध रहेको विभागले स्पष्ट पारेको छ।