विरोध मात्र होइन, अब शासन चलाएर परिणाम दिन्छौं : डा. स्वर्णिम वाग्ले
- ०७ असार २०८३
- १ मिनेटको पढाई
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टी अब आन्दोलनको शक्तिबाट संस्थागत दलमा रूपान्तरणको चरणमा प्रवेश गरेको बताएका छन्। चितवनको भरतपुरमा चलिरहेको रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नयाँ पुस्ताले प्रश्न सोध्न र विरोध गर्न मात्र नभई देश चलाएर परिणाम दिन पनि सक्छन् भन्ने प्रमाणित गर्नुपर्ने बेला आएको बताए। “आजदेखि हामी आफूलाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा बदल्दैछौं,” उनले भने, “हामीले प्रमाणित गर्नुछ कि नयाँ पुस्ताले विरोध गर्न मात्र होइन, शासन चलाउन पनि सक्छ र सपना देख्न मात्र होइन, पूरा गर्न पनि सक्छ।”
महाधिवेशनले पार्टीको दीर्घकालीन बाटो र भविष्यको चित्र तय गर्ने बताउँदै उनले रास्वपाको लक्ष्य स्पष्ट पारे। उनले निर्वाचनबाट बन्ने सरकार, कानुनको शासन र अल्पमतको सम्मान हुने उदार लोकतन्त्र रास्वपाको चाहना रहेको बताए।
साथै, पहुँचको सट्टा क्षमता र उद्यमशीलतामा आधारित अर्थतन्त्र तथा जात, थर र आर्थिक अवस्थाले नभई प्रतिभाले अवसर पाउने समन्यायिक समाज निर्माण गर्नु पार्टीको लक्ष्य रहेको वाग्लेको भनाइ छ। राज्यले नागरिकमाथि अनावश्यक दुःख दिने र शासन गर्ने नभई सेवा गर्नुपर्नेमा उनले जोड दिए।