बालेनले राजा ल्याउँछन् भनेर जनताले रास्वपालाई मत दिए : राजेन्द्र लिङदेन
- ०७ असार २०८३
- १ मिनेटको पढाई
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री बालेन्द्र शाहमाथि नेपालमा राजा चाहिन्छ भन्ने जनचाहनालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी रहेको बताएका छन्। चितवनको भरतपुरमा आयोजित सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।
अध्यक्ष लिङदेनले नेपालमा राजा चाहिन्छ भन्ने पार्टी राप्रपालाई मत नदिएर जनताले बालेनले राजा ल्याउँछन् भन्ने आशमा रास्वपालाई मत दिएको जिकिर गरे। उनले भने, “नेपालमा राजा चाहिन्छ भन्नेहरुको भोट पनि रास्वपालाई गएको छ। त्यसैले जनताको यो विशिष्ट चाहनालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी सरकारको हो।”
जनताले राजनीतिक दलको संगठन र पैसाभन्दा माथि उठेर रास्वपालाई झण्डै दुई तिहाइ मत दिएको उनले बताए। ७७ वटै जिल्लामा संगठन नै नबनेको पार्टीलाई जनताले गरेको यो विश्वासलाई निराशामा बदल्न नहुने उनले सुझाए। रास्वपाले देश बनाउने यो अवसर गुमाएमा पार्टी र नेतृत्वलाई मात्र नभई सिंगो देशलाई नै धोका हुने लिङदेनले स्पष्ट पारे।