ट्रम्प प्रशासनको स्वास्थ्य नीति विवादमा, न्युयोर्कसहित विभिन्न राज्य प्रभावित
- १७ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- गरिब तथा विपन्नका लागि सञ्चालित स्वास्थ्य सेवा कार्यक्रममा हुने जालसाजी अनुसन्धान गर्ने न्युयोर्क राज्यको एकाइलाई ट्रम्प प्रशासनले दिँदै आएको सङ्घीय बजेट रोकेको छ। अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागका महानिरीक्षक थोमस मार्च बेलले न्युयोर्कले जालसाजी गर्नेहरूविरुद्ध पर्याप्त आपराधिक मुद्दा चलाउन र दोषी ठहर गर्न नसकेको आरोप लगाउँदै कम्तीमा सेप्टेम्बर ३० सम्मका लागि बजेट रोक्का गरेका हुन्।
बेलले न्युयोर्कका अधिकारीहरूलाई पठाएको पत्रमा अन्य राज्यको तुलनामा सन् २०२३ देखि २०२५ सम्म न्युयोर्कको कार्यसम्पादन कमजोर रहेको उल्लेख गरेका छन्। यसै वर्ष ट्रम्प प्रशासनले हवाई राज्यको पनि यस्तै बजेट रोकेको थियो।
यता, न्युयोर्ककी महान्यायाधिवक्ता लेटिसिया जेम्सले यो निर्णयको कडा विरोध गर्दै कानुनी लडाइँ लड्ने बताएकी छन्। उनले आफ्नो कार्यकालमा जालसाजीमा परेको ६२ करोड ७० लाख डलरभन्दा बढी रकम फिर्ता ल्याएको दाबी गर्दै आफूहरूले साना घटनाभन्दा पनि ठूला र जटिल जालसाजीका घटनाहरूमा ध्यान केन्द्रित गरेकाले मुद्दाको सङ्ख्या कम देखिएको स्पष्ट पारेकी छन्। ट्रम्प प्रशासनले यसअघि मिनेसोटा र क्यालिफोर्निया जस्ता डेमोक्र्याटिक पार्टीको नेतृत्वमा रहेका राज्यहरूको पनि स्वास्थ्य सेवाको बजेट रोकेको थियो।