१८ असार २०८३, बिहिबार
2 July 2026, Thursday

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा बस्नेत नियुक्त

कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा बस्नेत नियुक्त

काठमाडौं—कान्तिपुर मिडिया ग्रुपको महाप्रबन्धकमा मनोज बस्नेत नियुक्त भएका छन्। कान्तिपुर मिडिया ग्रुपको व्यवस्थापनले असार १७ गतेदेखि लागू हुने गरी बस्नेतलाई ग्रुपको प्रिन्ट र सप्लाई चेन हेर्नेगरी महाप्रबन्धक पदमा नियुक्त गरेको हो।

बस्नेत यसअघि २ वर्ष अन्नपूर्ण मिडिया नेटवर्कमा महाप्रबन्धक भई काम गरिसकेका छन्।

१९ वर्षअघि काभ्रे जिल्ला संवाददाता भएर कान्तिपुर दैनिकबाट मिडिया उद्योगमा प्रवेश गरेका बस्नेतसँग न्युज रिपोर्टिङ, सेल्स, डिस्ट्रिब्युसन, मार्केटिङ, कर्पोरेट रणनीति, कार्यसम्पादन व्यवस्थापन, ब्रान्ड व्यवस्थापन लगायतका क्षेत्रमा दख्खल रहेको छ।

उनले यसअघि कान्तिपुर मिडिया ग्रुप तथा अन्नपूर्ण मिडिया नेटवर्कको रिपोर्टिङ, प्रेस, बिक्रीवितरण, रिजनल, मार्केटिङ, सेल्स र कर्पोरेटमा विभागीय प्रमुख भई काम गरिसकेका छन्। मिडिया व्यवस्थापनमा थप निखार ल्याउन उनले अमेरिका र भारतका प्रतिष्ठित प्रिन्ट, टेलिभिजन र डिजिटल मिडिया हाउसहरूको स्थलगत अध्ययन तथा अवलोकन भ्रमण गरी आधुनिक मिडिया सञ्चालनको अनुभव हासिल गरेका छन्।

‘संस्था बाँचे मात्र हामी बाँच्छौं भन्ने मान्यतालाई आत्मसात् गर्दै दिएको जिम्मेवारी पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन,’ उनले भने।

मार्च २०२४ देखि उनी ‘अमेरिकन मार्केटिङ एसोसिएसन’ को प्रोफेसनल मेम्बर रहेका छन् भने सेप्टेम्बर २०२२ देखि ‘इन्टरनेसनल फेडरेसन अफ जर्नालिस्ट’ (IFJ) को प्रेस कार्ड होल्डर, अगस्ट २०२२ देखि ‘युथ युनेस्को क्लब, अमेरिका’ को इन्टरनेसनल मिडिया एड्भाइजर, इन्टरनेसनल न्युज मिडिया एसोसिएसन अमेरिकामा समेत आबद्ध छन्।

बस्नेतले सञ्चार, युवा सशक्तीकरण र मानवीय कार्यका क्षेत्रमा पुर्‍याएको महत्त्वपूर्ण योगदानका लागि धेरै प्रतिष्ठित पुरस्कार र सम्मानहरू प्राप्त गरेका छन् भने कर्मको सिलसिलामा सर्वोत्कृष्ट कार्य गरेबापत अवार्ड समेत पाएका छन्। उनलाई अमेरिकाबाट युनेस्को युथ पिस एम्बेसडर अवार्ड र समस्त भारत नेसनल म्यागेजिन, इन्डियाले कोरोना योद्धा सेवा अवार्डबाट सम्मान गरेको छ।

राष्ट्रिय खानेपानी पत्रकारिता पुरस्कार, कान्तिपुर मिडिया ग्रुपबाट चियरम्यान एक्सिलेन्स अवार्ड, अन्नपूर्णबाट बेस्ट इम्प्लोइ अफ द एयरबाट समेत बस्नेत सम्मानित भएका थिए। त्यसैगरी न्युयोर्क स्टेट एसेम्बलीका सदस्य स्टेभन बी. रागाबाट ‘असाधारण नेतृत्व र कार्यसम्पादन’ (Extraordinary Leadership and Performance) का लागि प्रशंसापत्र; त्रिवेणी टाइम्स युएसए र न्युयोर्क स्टेट एसेम्बलीकी सदस्य (३८औं जिल्ला) जेनिफर राजकुमारबाट ‘कम्युनिटी मिडिया अवार्ड’ सहित सम्मानपत्र; न्युयोर्क स्टेट एसेम्बलीका सदस्य डेभिड आई. वेप्रिनबाट ‘कार्यसम्पादन व्यवस्थापन र दूरदर्शी नेतृत्व’ (Performance Management and Visionary Leadership) का लागि सम्मानपत्र; र न्युयोर्क स्टेट सिनेटका सिनेटर जोन सी. लिउबाट ‘मिडिया लिडर’ को रूपमा सम्मानपत्र प्राप्त गरेका छन्। बाइस्ट्रिम्स एलएलसी अमेरिका मिडिया लिडर अफ द एयर अवार्ड र अमेरिकाको सफोल्क काउन्टीका लेजिस्लेटर स्यामुएल गोन्जालेजले पत्रकारिता र सञ्चार क्षेत्रको माध्यमबाट नेपाली समुदायमा विशिष्ट योगदान पुर्‍याएको भन्दै विशेष सम्मानपत्र समेत प्रदान गरेका छन्।