ब्रुकलिन ब्रिजमा आगलागी, म्यासिज आतिशबाजीको समयमा घटना
- २१ असार २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कस्थित ब्रुकलिन ब्रिजमा शनिबार राति म्यासिज जुलाई फोर्थ आतिशबाजी (फायरवर्क्स) कार्यक्रम भइरहेका बेला आगलागी भएको छ। कार्यक्रम हेर्न जम्मा भएका सर्वसाधारणले पुलमा आगो फैलिएको र धुवाँको मुस्लो निस्किएको देखेका थिए।
आगो निभाउन दुईवटा दमकल प्रयोग गरिएको न्युयोर्क अग्नि नियन्त्रण विभागले जनाएको छ। राति करिब १० बजे अग्नि नियन्त्रकहरूले पुलमा लागेको आगो निभाएका थिए। आतिशबाजी कार्यक्रमको समयमा पुलमा यातायात पूर्ण रूपमा बन्द गरिएको थियो। घटनामा कोही पनि घाइते भएका छैनन्।
विभागका प्रवक्ताले आतिशबाजीको समयमा यस्ता सानातिना आगलागी हुनु अस्वाभाविक नभएको बताए। यही कारणले गर्दा सुरक्षाका लागि सर्वसाधारणलाई आतिशबाजी हुने ठाउँभन्दा टाढै राख्ने गरिएको उनले जानकारी दिए। खराब मौसमको सम्भावनाका कारण यस वर्षको आतिशबाजी कार्यक्रम तय गरिएको समयभन्दा केही अगाडि नै सुरु गरिएको थियो।