२३ असार २०८३, मङ्लबार
7 July 2026, Tuesday

७ हजार मिटरको हिमाल नचढी सगरमाथा चढ्न नपाइने नियम आउँदै

७ हजार मिटरको हिमाल नचढी सगरमाथा चढ्न नपाइने नियम आउँदै

काठमाडौं- सगरमाथामा बढ्दो भीड नियन्त्रण गर्न सरकारले नयाँ नियम ल्याउने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले अब ७ हजार मिटरभन्दा अग्लो हिमाल नचढी सगरमाथा आरोहण गर्न नपाइने व्यवस्था गर्न लागिएको बताए।

सोमबार राष्ट्रिय सभामा बोल्दै उनले नयाँ पर्यटन ऐन र नियमावलीमार्फत यस्तो नियम ल्याउन लागिएको जानकारी दिए। नयाँ नियम लागु भएपछि सगरमाथामा भीड घट्ने र अनुभवी आरोहीले मात्र अनुमति पाउने उनको भनाइ छ। सगरमाथाको अस्तित्व जोगाउनकै लागि यो कदम चाल्न लागिएको र हिमालको रोयल्टी बढाउने विषयमा अर्थ मन्त्रालयसँग समन्वय भइरहेको पनि उनले खुलाए।

मन्त्री पौडेलले पर्यटनको विविधतालाई ध्यान दिँदै सबै खाले पर्यटन प्रवर्द्धनमा मन्त्रालयले काम गर्ने बताए। उनले नेपाल वायुसेवा निगमका साना ट्वीनअटर जहाजको संरक्षण तथा विस्तार गर्न निर्देशन दिने र पोखरा तथा भैरहवा विमानस्थल सञ्चालन गर्न आवश्यक हवाई रुटका लागि कूटनीतिक पहल भइरहेको पनि जानकारी दिए।