१९ भदौ २०८३, शुक्रबार
4 September 2026, Friday

एआइलाई सुरक्षित र नैतिक बनाउन राष्ट्रसंघको आह्वान

एआइलाई सुरक्षित र नैतिक बनाउन राष्ट्रसंघको आह्वान

न्युयोर्क- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकताको विकासलाई सुरक्षित, समावेशी र नैतिक बनाउन विश्वव्यापी समन्वयका लागि आह्वान गरेका छन्। जेनेभामा सोमबार भएको कृत्रिम बौद्धिकताको शासनसम्बन्धी पहिलो विश्वव्यापी संवादमा बोल्दै उनले यो प्रविधि अनियन्त्रित गतिमा अघि बढिरहेको र विश्वलाई नै परिवर्तन गरिरहेको बताए।

उनले भने, ‘हामीले यो परिवर्तनलाई मिलेर सही बाटोमा लैजाने कि यसलाई हामीमाथि हावी हुन दिने भन्ने प्रश्न अहिले मुख्य बनेको छ।’ गुटेरेसले कृत्रिम बौद्धिकताको सुशासनका लागि सुरक्षा, मानव अधिकार, क्षमता र पारदर्शिता गरी चारवटा मुख्य प्राथमिकता तोके। उनले यस संवादले कृत्रिम बौद्धिकतालाई थप सुरक्षित र निष्पक्ष बनाउन बाटो खुल्ने विश्वास व्यक्त गरे। अर्को वर्ष न्युयोर्कमा हुने संवादसम्ममा यसलाई सुरक्षित र न्यायपूर्ण बनाउने काममा राम्रो प्रगति हुने उनको अपेक्षा छ।

यसैबीच, राष्ट्रसंघको एक स्वतन्त्र वैज्ञानिक प्यानलले सोमबार नै कृत्रिम बौद्धिकताका अवसर र जोखिमबारे प्रारम्भिक प्रतिवेदन बुझाएको छ। प्रतिवेदनले प्रविधिको तीव्र विकासको तुलनामा सुरक्षाका उपायहरू पछि परेको भन्दै सचेत गराएको छ। दुई दिनसम्म चल्ने यो संवादमा विभिन्न देशका सरकारी प्रतिनिधि, प्रविधि कम्पनी, प्राज्ञिक क्षेत्र र नागरिक समाजको सहभागिता छ।