३२ असार २०८३, बिहिबार
16 July 2026, Thursday

ब्रसेल्सको निर्माणाधीन भवनमा आगलागी, लिफ्टभित्र ६ जनाको शव फेला

ब्रसेल्सको निर्माणाधीन भवनमा आगलागी, लिफ्टभित्र ६ जनाको शव फेला

न्युयोर्क- बेल्जियमको राजधानी ब्रसेल्समा रहेको एउटा निर्माणाधीन भवनमा मङ्गलवार बिहान ठूलो आगलागी हुँदा ६ जनाको ज्यान गएको छ। मध्य ब्रसेल्सको दे ब्रोउकेरे स्क्वायरमा रहेको ओएक्सवाई भवनमा आगो लागेको हो।

लेबर प्रोसिक्युटर कार्यालयकी प्रवक्ता भ्यालेन्टिना मारोचीले भवनको लिफ्टभित्र ६ जनाको शव भेटिएको बताइन्। पहिलो लिफ्ट खोल्दा ती शव फेला परेका हुन्। शवहरू बाहिर निकालिए पनि ती व्यक्तिहरू यसअघि हराइरहेका ६ जना कामदार नै हुन् वा अरू हुन् भन्ने अझै पक्का भइसकेको छैन।

अहिले घटनास्थलमा उद्धार र खोजी कार्य जारी छ। अरू कोही फसेका छन् कि भनेर दोस्रो लिफ्टको पनि जाँच गरिँदै छ। मर्मत भइरहेको यो ऐतिहासिक भवनमा कसरी आगो लाग्यो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।