मानसिक स्वास्थ्यमा समयमै ध्यान दिन जनस्वास्थ्य कार्यालयको आग्रह
- ०६ साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले साउन महिनाभर यसबारे सचेतना फैलाउन आग्रह गरेको छ। मङ्गलबार सरोकारवाला र पत्रकारहरूसँगको छलफलमा कार्यालयले कर्णाली प्रदेशमा मानसिक समस्या बढिरहेको भन्दै रोकथामका लागि सबैको सहकार्य आवश्यक रहेको बताएको हो।
कार्यालय प्रमुख करुणा भट्टराईले मानसिक स्वास्थ्यमा समयमै ध्यान नदिँदा परिवार र समाजमा गम्भीर असर पर्ने बताइन्। उनले मानसिक समस्या र आत्महत्या न्यूनीकरणका लागि सबै सचेत हुनुपर्नेमा जोड दिइन्। त्यसैगरी, सिएमसी नेपालका प्रादेशिक संयोजक हिमाल गैरेले सकारात्मक सोच र जीवनका चुनौती सामना गर्ने क्षमता बढाउनुपर्ने बताए।
उनले मानसिक समस्या भएका व्यक्तिलाई सहयोग गर्न र आवश्यक पर्दा ११६६ नम्बरको निःशुल्क टेलिफोन सेवा प्रयोग गर्न आग्रह गरे। अब स्थानीय तह र विद्यालयहरूमा पनि यस्ता सचेतना कार्यक्रम चलाइने उनले जानकारी दिए। यसैबीच, कार्यालयका वरिष्ठ मलेरिया निरीक्षक उदय बिसीले डेङ्गुबाट बच्न घरआँगन सफा राख्न, पानी जम्न नदिन र लामखुट्टे बस्ने ठाउँ नष्ट गर्न आग्रह गरे।