यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना
- १० साउन २०८३
- १ मिनेटको पढाई
काठमाडौं- दाङको देउखुरीमा यात्रीलाई बासी खाना खुवाउने एउटा होटललाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका-३ मसुरीयामा रहेको ‘पूर्वपश्चिम हाइवे होटल’ लाई उक्त जरिवाना तिराइएको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पदम बरालले होटलमा अस्वस्थकर र बासी खाना राखेको भेटिएको बताए। उनले खानामा कृत्रिम रङ हाल्ने गरेको, भान्सा फोहोर र गन्हाउने रहेको अनि मूल्यसूची पनि नराखेको जानकारी दिए। सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनसहितको टोलीले अनुगमन गर्दा यस्तो अवस्था फेला पारेको हो।
यसअघि पनि पटकपटक सुधार्न भन्दा नमानेपछि टोलीले जरिवाना गरेको हो। टोलीले होटल सञ्चालकलाई एक हप्ताभित्र जिल्ला प्रशासन कार्यालयमा जरिवाना रकम र कागजपत्र बुझाउन निर्देशन दिएको छ। सोही टोलीले शुक्रबार देउखुरी क्षेत्रका अन्य सातवटा होटलको पनि अनुगमन गरेको थियो।