११ साउन २०८३, सोमवार
27 July 2026, Monday

एआइएनद्वारा सम्पत्ति शुद्धीकरण निवारणबारे अभिमुखीकरण, नेपाललाई ‘ग्रे लिस्ट’बाट हटाउन जोड

एआइएनद्वारा सम्पत्ति शुद्धीकरण निवारणबारे अभिमुखीकरण, नेपाललाई ‘ग्रे लिस्ट’बाट हटाउन जोड

काठमाडौं- अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको साझा सञ्जाल (एआइएन) ले आफ्ना सदस्य संस्थाका लागि सम्पत्ति शुद्धीकरण र आतङ्ककारी कार्यमा वित्तीय लगानी रोक्ने विषयमा अभिमुखीकरण कार्यक्रम गरेको छ। सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन संशोधन गर्दै गैरनाफामूलक संस्थालाई पनि यसको दायरामा ल्याएपछि नीतिगत स्पष्टता दिन एआइएनले यो कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा सरकारी प्रतिनिधि र विज्ञहरूले सम्पत्ति शुद्धीकरण र आतङ्ककारी कार्यमा हुने लगानी नियन्त्रण गर्ने नीति र कार्यान्वयनका चुनौतीबारे जानकारी गराए। नेपाललाई अन्तर्राष्ट्रिय स्तरको ‘ग्रे लिस्ट’ बाट ‘ग्रिन लिस्ट’ मा उकाल्ने राष्ट्रिय अभियानमा यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने एआइएनले जनाएको छ।

कार्यक्रममा बोल्दै एआइएनकी कोषाध्यक्ष सुजिता माथेमाले वित्तीय सुशासन कायम गर्नु कुनै एक संस्थाको मात्र नभई सबैको साझा जिम्मेवारी भएको बताइन्। उनले नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ‘ग्रे लिस्ट’ मा परेको विषयलाई चेतावनीभन्दा पनि सुधार गर्ने अवसरका रूपमा लिनुपर्नेमा जोड दिइन्। ‘ग्रे लिस्टिङ’ ले विदेशी लगानी, अन्तर्राष्ट्रिय बैंकिङ कारोबार, रेमिट्यान्स र देशको छविमा गम्भीर असर पार्न सक्ने उनले प्रस्ट पारिन्।

सम्पत्ति शुद्धीकरण र आतंकवादी गतिविधिमा लगानी नियन्त्रण गर्ने विषयलाई प्राविधिक वा कानुनी रूपमा मात्र हेर्न नहुने उनको तर्क छ। यो विषय देशको आर्थिक स्थायित्व र राष्ट्रिय प्रतिष्ठासँग प्रत्यक्ष जोडिएको भन्दै उनले वित्तीय क्षेत्रमा सुधार ल्याएर राष्ट्रिय छवि बलियो बनाउन सबैसँग आग्रह गरिन्। कार्यक्रममा एआइएनका सदस्य संस्थाका प्रमुख, सरकारी अधिकारी र सरोकारवाला निकायका प्रतिनिधि सहभागी थिए।