न्युयोर्कमा प्रहरी अधिकारी नै छोराको ज्यान मार्ने योजनामा पक्राउ
- २० साउन २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कको माउन्ट भर्नोन सहरकी एक उच्च प्रहरी अधिकारी जेनिफर ल्याकार्डलाई ज्यान मार्ने उद्योगमा पक्राउ गरिएको छ। उनले आफ्नै २० वर्षीय छोरा चेस र श्रीमान् जेम्ससँग मिलेर उक्त योजना बनाएकी थिइन्। मङ्गलबार पक्राउ परेलगत्तै उनलाई प्रहरीको जागिरबाट पनि निकालिएको छ।
गत जुन २९ मा ब्रोन्क्स अदालत बाहिर एउटा समूहमाथि गोली चलेको थियो। उक्त घटनामा जेनिफरका छोरा चेसले नै गोली चलाएका थिए। गोली चलाएपछि उनीहरू पारिवारिक भ्यानमा चढेर भागेका थिए। सरकारी वकिलले अदालतमा पेस गरेको मोबाइल सन्देशअनुसार आमा र छोराले भाग्ने योजना पहिले नै बनाएका थिए। सन्देशमा जेनिफरले छोरालाई ‘सही समय मिलाएर मात्र बाहिर निस्कन’ भनेकी थिइन्।
गोलीकाण्डमा कोही पनि घाइते भने भएनन्। वकिलका अनुसार उनका छोरा चेस एउटा आपराधिक गिरोहका सदस्य हुन् र उनीहरूले विरोधी समूहका सदस्यलाई लक्षित गरेर गोली चलाएका थिए। गोली चलेकै दिन चेस पुरानो हतियार सम्बन्धी मुद्दामा अदालतमा उपस्थित भएका थिए।
भ्यान चलाउन सहयोग गर्ने जेनिफरका श्रीमानलाई भने अहिलेसम्म औपचारिक रूपमा मुद्दा दायर गरिएको छैन। जेनिफरकी वकिलले भने प्रहरी र आमाको रूपमा उनको राम्रो विगत रहेको भन्दै यी आरोपहरू सत्य नभएको दाबी गरिन्।