२२ साउन २०८३, शुक्रबार
7 August 2026, Friday

अमेरिकामा जुलाई महिनामा २३ हजार रोजगारी गुमे, अर्थतन्त्रमा सुस्तता

अमेरिकामा जुलाई महिनामा २३ हजार रोजगारी गुमे, अर्थतन्त्रमा सुस्तता

न्युयोर्क- अमेरिकी अर्थतन्त्रले जुलाई महिनामा २३ हजार रोजगारी गुमाएको छ। लगातार चार महिनाको वृद्धिपछि श्रम बजार फेरि सुस्ताएको हो। रोजगारी घटे पनि बेरोजगारी दर भने सामान्य घटेर ४.१ प्रतिशत पुगेको छ।

अर्थशास्त्रीहरूले ८३ हजार नयाँ रोजगारी थपिने अनुमान गरेका थिए। तर उल्टै रोजगारी गुमेको तथ्यांक आएको छ। श्रम तथ्यांक ब्युरोका अनुसार अघिल्ला दुई महिनाको तथ्यांकबाट पनि १ लाख ३ हजार रोजगारी कटौती गरिएको छ।

अमेरिका र इरानबीचको तनावले इन्धनको मूल्य बढ्दा अर्थतन्त्रमा असर परेको छ। अहिले महँगी ३.५ प्रतिशत हुँदा कामदारको ज्याला वृद्धि दर ३.२ प्रतिशत मात्र छ। यसले गर्दा आम्दानीले महँगी धान्न मुस्किल परेको छ।

यो महिना सबैभन्दा धेरै शिक्षा क्षेत्रमा ५० हजार, मनोरञ्जन तथा होटल क्षेत्रमा ४० हजार र खुद्रा व्यापारमा १९ हजार रोजगारी गुमे। स्वास्थ्य, निर्माण र उत्पादन क्षेत्रमा भने केही रोजगारी थपिएका छन्।

श्रम बजारमा मानिसहरूको सहभागिता दर पाँच वर्षयताकै न्यून विन्दुमा पुगेको छ। कमजोर रोजगारी तथ्यांक आएपछि अमेरिकी केन्द्रीय बैंकलाई तत्काल ब्याजदर बढाउने दबाब केही कम भएको छ।