२८ साउन २०८३, बिहिबार
13 August 2026, Thursday

टेक्सासमा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना, दुई सैनिकको मृत्यु

टेक्सासमा अमेरिकी सेनाको हेलिकप्टर दुर्घटना, दुई सैनिकको मृत्यु

न्युयोर्क-  मध्य टेक्सासस्थित सालाडो नजिकैको खेतमा सेनाको लडाकु हेलिकप्टर दुर्घटना हुँदा दुई जना सैनिकको ज्यान गएको छ।

अमेरिकी सेनाले ‘एएच-६४ अपाचे’ हेलिकप्टरमा सवार दुवै जनाको मृत्यु भएको पुष्टि गरेको छ। मृतक सैनिकहरूको शव फोर्ट हुडस्थित कार्ल आर डार्नल आर्मी अस्पतालमा लगिएको छ। सैन्य अधिकारी इथान डिभेनले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरे।

स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनापछि खेतको घाँसे मैदानमा आगलागी भएको थियो। तर, हेलिकप्टर बस्ती वा अन्य संरचनामा नखसेकाले भुइँमा रहेका मानिस वा संरचनामा कुनै क्षति पुगेन।

टेक्सासका गभर्नर ग्रेग एबटले सामाजिक सञ्जाल एक्समार्फत घटनाप्रति दुःख व्यक्त गर्दै देशको सेवा गर्ने सैनिकप्रति राज्य सधैँ ऋणी रहने बताए।

दुई सिट मात्र हुने अपाचे हेलिकप्टर अमेरिकी सेनाको प्रमुख लडाकु यन्त्र मानिन्छ। दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन। फोर्ट हुडले अनुसन्धानपछि मृतकको पहिचान र घटनाको थप विवरण सार्वजनिक गर्ने जनाएको छ।