बस र दमकल ठोक्किँदा १९ जना घाइते
- ०३ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- ब्रोंक्समा बस र दमकल एकआपसमा ठोक्किँदा ५ जना अग्नि नियन्त्रक र १४ जना यात्रु गरी १९ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारका लागि अस्पताल लगिएको अधिकारीहरूले बताएका छन्।
दिउँसो करिब साढे १२ बजे साउदर्न बुलेभार्ड र ब्यारेटो स्ट्रिट नजिकै यो दुर्घटना भएको हो। प्राप्त भिडियोमा हरियो बत्ती बलेको बेला बस अघि बढिरहेको र त्यही बेला दमकल एक्कासी चोकमा आएको देखिन्छ। ठूलो दुर्घटनाबाट बच्न दुवै सवारीका चालकले गाडी मोड्ने प्रयास गरेका थिए। दुर्घटनाका कारण बसको अगाडिको सिसा नराम्ररी फुटेको छ।
बसमा कति यात्रु थिए भन्ने यकिन संख्या भने खुलेको छैन। केही यात्रुहरू हिँडेरै सुरक्षित स्थानतर्फ गएका थिए भने केहीलाई स्ट्रेचरमा राखेर लगिएको थियो। एक प्रत्यक्षदर्शीका अनुसार दुर्घटना हुँदा दमकलले बत्ती बालेको वा साइरन बजाएको थिएन।
अहिले यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ।