मेटामा बालबालिकाको सुरक्षाभन्दा नाफालाई प्राथमिकता: पूर्व कर्मचारीको दाबी
- ०४ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- पूर्व इन्जिनियरिङ निर्देशक आर्टुरो बेजारले मेटाका प्रमुख मार्क जुकरबर्गले बालबालिकाको सुरक्षालाई भन्दा फेसबुक र इन्स्टाग्रामको वृद्धि र नाफालाई प्राथमिकता दिएको बताए। क्यालिफोर्नियाको अदालतमा भइरहेको सुनुवाइका क्रममा उनले यस्तो दाबी गरेका हुन्।
अमेरिकाका दर्जनौं राज्यले मेटाविरुद्ध मुद्दा हालेका छन्। उनीहरूले मेटाले जानीजानी बालबालिकालाई लत बसाल्ने एप बनाएको, मानसिक स्वास्थ्यमा असर पुर्याएको र १३ वर्षमुनिका प्रयोगकर्ताको व्यक्तिगत डाटा अनधिकृत रूपमा संकलन गरेको आरोप लगाए।
आफूले जुकरबर्गलाई इमेलमार्फत बालबालिकाको सुरक्षा जोखिमबारे पटक-पटक जानकारी गराए पनि कुनै सुनुवाइ नभएको बेजारले बताए। उनले आफ्नै १६ वर्षीया छोरीले इन्स्टाग्राममा महिलाद्वेषी र दुर्व्यवहारपूर्ण टिप्पणीहरू खेप्नुपरेको उदाहरण पनि पेस गरे।
बेजारका अनुसार, मेटासँग १३ वर्षमुनिका प्रयोगकर्ता पहिचान गर्ने प्रविधि भए पनि नाफा घट्ने डरले कम्पनीले त्यसलाई बेवास्ता गर्यो। ६ हप्तासम्म चल्ने अनुमान गरिएको यस मुद्दालाई सामाजिक सञ्जालले बालबालिकामा पार्ने असरबारे हालसम्मकै ठूलो कानुनी परीक्षण मानिएको छ।