हेटौंडा कपडा उद्योग चलाउन थप बजेट नमाग्ने मन्त्री यादवको घोषणा
- ०६ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले हेटौंडा कपडा उद्योग चलाउन अर्थ मन्त्रालयसँग तत्काल थप बजेट नमाग्ने बताएकी छन्। औद्योगिक क्षेत्रबाट उठ्न बाँकी रहेको करिब आधा अर्ब रुपैयाँ भाडा असुल गरेर सोही रकमले उद्योगको स्तरोन्नति र सञ्चालन गर्ने उनले जानकारी दिइन्।
हेटौंडा पुगेर परीक्षण उत्पादनको अवलोकन गर्दै मन्त्री यादवले उद्योगलाई अब परीक्षणमा मात्र सीमित नराखी नियमित उत्पादनमा लैजानुपर्ने बताइन्। अहिले उद्योगमा १० वटा मेसिनबाट कपडा उत्पादन भइरहेको छ भने थप १० वटा चलाउने तयारी छ। नेपाली सेनाका प्रतिनिधिले उद्योगका सबै उपकरणको अवस्था जाँचेर सम्भव भएसम्म थप मेसिन चलाउने काम गरिरहेका छन्।
तोकिएको समयमै परीक्षण उत्पादन सुरु गरेकोमा उनले नेपाली सेनालाई धन्यवाद दिइन्। यो उद्योगलाई दिगो रूपमा चलाउन सेनाको निरन्तर सहयोग चाहिने उनले प्रस्ट पारिन्। उद्योगका सबै मेसिन चलाउन सके नेपाललाई पुग्ने पर्याप्त कपडा यहीँ उत्पादन गर्न सकिने मन्त्री यादवको विश्वास छ।