ब्रुकलिनको रेस्टुरेन्टमा गोली चल्यो: एक कामदारको ज्यान गयो
- ०८ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको ब्रुकलिनस्थित ब्राउन्सभिल क्षेत्रमा रहेको एउटा रेस्टुरेन्टमा आइतबार बिहानै गोली चल्दा एक जना कामदारको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्। यो घटना ‘अमेरिकन बेस्ट विंग्स एन्ड पिज्जा’ रेस्टुरेन्टमा भएको हो।
प्रहरीका अनुसार ४४ वर्षका एक पुरुषको टाउकोमा गोली लागेको थियो। उनलाई ब्रुकडेल युनिभर्सिटी अस्पताल पुर्याइए पनि ज्यान बचाउन सकिएन। त्यसैगरी, ३९ वर्षका अर्का कामदारको खुट्टामा गोली लागेको छ। उनको अवस्था भने खतरामुक्त रहेको प्रहरीले बताए। ज्यान गुमाउने व्यक्तिको नाम अहिलेसम्म खुलाइएको छैन।
अहिले प्रहरीले घटनास्थलमा रगत र अन्य प्रमाणहरु जुटाएर अनुसन्धान गरिरहेको छ। गोली कसले र किन चलायो भन्ने कुरा खुल्न सकेको छैन। यस घटनाले स्थानीय बासिन्दा निकै त्रसित छन्। लामो समयदेखि यस्तो आपराधिक घटना नदेखेका छिमेकीहरुले पसलभित्रै हत्या हुनु डरलाग्दो भएको बताए। अनुसन्धानकै कारण आइतबार खुल्ने समयमा पनि रेस्टुरेन्ट बन्द नै रह्यो।