न्युयोर्क- अमेरिकी विदेश मन्त्रालयले जारी गरेको ‘विल्बरफोर्स पाम्प्लेट’ (Wilberforce Pamphlet) ले अमेरिकामा अस्थायी भिसा (जस्तै: A-3, G-5, H, J, NATO-7, TN, र B-1) मा काम गर्न वा तालिम लिन जाने विदेशी कामदारहरूको अधिकारलाई स्पष्ट पारेको छ। यस पुस्तिकाको मुख्य उद्देश्य कामदारहरूलाई शोषण, दुर्व्यवहार र मानव बेचबिखनबाट जोगाउनु हो।
तपाईंको अध्यागमन हैसियत (Immigration Status) जे भए पनि अमेरिकामा तपाईंले निम्न अधिकारहरू पाउनुहुन्छ:
-उचित पारिश्रमिक पाउने अधिकार: रोजगारदाताले तपाईंलाई संघीय वा स्थानीय नियमअनुसार तोकिएको न्यूनतम पारिश्रमिक दिनुपर्छ। हप्तामा ४० घण्टाभन्दा बढी काम गरेमा अतिरिक्त समयको (Overtime) थप रकम पाउनुपर्छ।
-स्वस्थ र सुरक्षित कार्यस्थल: तपाईंले काम गर्ने ठाउँ स्वस्थ र सुरक्षित हुनुपर्छ। रोजगारदाताले तपाईंले बुझ्ने भाषामा तालिम र आवश्यक सुरक्षा उपकरण दिनुपर्छ। कार्यस्थल असुरक्षित लागेमा तपाईंले ‘अकुपेसनल सेफ्टी एन्ड हेल्थ एडमिनिस्ट्रेसन’ (OSHA) मा उजुरी गर्न सक्नुहुन्छ।
-भेदभाव र दुर्व्यवहारबाट मुक्ती: उमेर, लिङ्ग, जात, धर्म, राष्ट्रियता वा शारीरिक अवस्थाको आधारमा तपाईंमाथि रोजगारदाताले कुनै पनि भेदभाव वा दुर्व्यवहार गर्न पाइँदैन।
-युनियनमा लाग्न पाउने अधिकार: आफ्नो हकहितका लागि युनियन, आप्रवासी वा मजदुर अधिकार समूहहरूमा आबद्ध हुन र उनीहरूसँग सहयोग माग्न पाइन्छ।
-असुरक्षित काम छोड्न पाउने अधिकार: यदि रोजगारदाताले दुर्व्यवहार गरिरहेको छ वा तपाईंलाई सुरक्षित महसुस भइरहेको छैन भने तपाईंले त्यो काम छोड्न सक्नुहुन्छ।
-शोषण र मानव बेचबिखनबाट सुरक्षा: कसैले पनि तपाईंलाई जबर्जस्ती काममा लगाउन, यौन शोषण गर्न वा ऋणको बन्धक बनाउन पाउँदैन। रोजगारदाताले तपाईंको राहदानी (Passport) वा अन्य व्यक्तिगत कागजातहरू आफूसँग राख्न वा खोस्न पूर्ण रूपमा गैरकानुनी मानिन्छ।
समस्या परेमा कहाँ सम्पर्क गर्ने?
यदि तपाईं तत्काल खतरामा हुनुहुन्छ भने स्थानीय प्रहरीलाई सम्पर्क गर्न ‘911’ मा कल गर्न सक्नुहुन्छ। त्यस्तै, तपाईंको अधिकार हनन भएको महसुस भएमा वा मानव बेचबिखनको शंका लागेमा ‘नेसनल ह्युमन ट्राफिकिङ हटलाइन’ को नम्बर 1-888-373-7888 मा सम्पर्क गर्न सकिन्छ। साथै, 233733 मा “HELP” लेखेर मेसेज पठाउन वा इमेलमार्फत पनि सहयोग माग्न सकिन्छ। यो सेवा अध्यागमन हैसियतको पर्वाह नगरी पूर्ण रूपमा गोप्य र सुरक्षित हुन्छ।