२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

बाढी प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान

बाढी प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान

काठमाडौं- एयरलाइन्स अपरेटर्स एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष क्याप्टेन रामेश्वर थापाले रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरो प्रभावितको उद्धार तथा राहतमा जुट्न हेलिकोप्टर सञ्चालक र पाइलटहरूलाई आह्वान गरेका छन्। उनले बाढीपहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जलि दिँदै परिवारजनमा समवेदना प्रकट गरेका छन्।

विपद्को बेला हेलिकोप्टर क्षेत्रले सधैँ अगाडि रहेर काम गर्दै आएको बताउँदै उनले कठिन भूगोल र परिस्थितिमा पनि तत्काल उद्धार गर्नु मानवीय दायित्व भएको बताएका छन्। साथै, उनले उद्धार र राहतमा खटिएका पाइलट, चालक दल र सम्बन्धित सबैलाई सम्मानसमेत व्यक्त गरेका छन्।

अहिलेको अवस्थामा उद्धार कार्यलाई उच्च प्राथमिकता दिन उनले सबै हेलिकोप्टर सञ्चालक र चालक दललाई आग्रह गरेका छन्। सानो प्रयासले पनि नागरिकको ज्यान बचाउन सकिने उनको भनाइ छ। जोखिमपूर्ण ठाउँमा उद्धार उडान गर्दा मौसम र अवस्थाको सही विश्लेषण गरेर उडान सुरक्षा नियमको पूर्ण पालना गर्न पनि उनले सबैलाई आग्रह गरेका छन्।