२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

बाढीको कहर: त्रिशूली र नारायणी नदीमा ५३ वटा शव भेटिए

बाढीको कहर: त्रिशूली र नारायणी नदीमा ५३ वटा शव भेटिए

काठमाडौं- तिब्बतबाट आएको भोटेकोशी बाढीसँगै बगेर आएका ५३ वटा शव चितवनका त्रिशूली र नारायणी नदीमा भेटिएका छन्। कुरिनटारदेखि मुग्लिनसम्म १६ वटा र मुग्लिनभन्दा तल ३७ वटा शव फेला परेका हुन्।

चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले भेटिएका शवहरू भरतपुर अस्पताल ल्याउने काम भइरहेको बताए। शवहरूको अवस्था खराब भएकाले महिला वा पुरुष भनेर छुट्टाउन गाह्रो भएको उनले जानकारी दिए। यस्तै, चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अस्पतालमा शव राख्ने ठाउँ भरिएकाले नयाँ ठाउँको खोजी भइरहेको बताए। अहिले सुरक्षाकर्मीहरूले खोला किनारबाट शव निकाल्ने काम गरिरहेका छन्।

बाढीको जोखिम र धादिङलगायतका क्षेत्रमा सडक बिग्रिएका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अर्को सूचना नआएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको छ।