बाढी प्रभावितलाई ५ करोड सहयोग गर्दै गैरआवासीय नेपाली सङ्घ
- १० भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- गैरआवासीय नेपाली सङ्घले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार र राहतका लागि ५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने निर्णय गरेको छ। सङ्घको आकस्मिक बैठकले सहयोग रकम जुटाउन र उद्धार कार्य अघि बढाउन विभिन्न समितिहरू पनि बनाएको छ।
बैठकले सङ्घका अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा ‘राहत तथा उद्धार’ मूल समिति बनाएको छ। यसैगरी, आर्थिक सङ्कलन गर्न कोषाध्यक्ष कृष्ण तिमल्सिना, स्वयंसेवक खटाउन उपाध्यक्ष मनोज गोर्खाली र क्षेत्रीय समन्वयका लागि महासचिव डा. चिरञ्जीवी खड्काको नेतृत्वमा छुट्टाछुट्टै समिति गठन गरिएको छ। सरकारी निकायसँग समन्वय गर्ने जिम्मा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतलाई दिइएको छ।
बाढी प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य र स्वयंसेवक टोली पठाउने सङ्घले बताएको छ। सङ्घले सरकारसँग मिलेर राहत र उद्धारको काम गर्ने प्रतिबद्धता जनाएको छ। साथै, बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सङ्घले घाइतेहरू छिट्टै निको हुने कामना पनि गरेको छ।