२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

बाढीको बितण्डा: गोरखामा आठ शव भेटिए, दुई झोलुङ्गे पुल बगायो

बाढीको बितण्डा: गोरखामा आठ शव भेटिए, दुई झोलुङ्गे पुल बगायो

काठमाडौं- भोटेकोशी नदीमा आएको बाढीका कारण गोरखा र धादिङ तथा चितवनको सिमाना भएर बग्ने त्रिशूली नदी किनारमा आठ जनाको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार गण्डकी गाउँपालिका र सहिदलखन गाउँपालिकाका विभिन्न ठाउँमा ती शव फेला परेका हुन्।

श्रेष्ठले दिएको जानकारी अनुसार गण्डकी गाउँपालिकाको धवादीघाट, भुम्लिचोक, बुटार, फेवाटार र ज्यामिरेघाटमा एक-एक वटा शव भेटिएका छन्। त्यस्तै, सहिदलखन गाउँपालिकाको सिलिङटार किनारमा तीन जना पुरुषको शव भेटिएको उनले बताए।

बाढीले पृथ्वी राजमार्ग र गोरखा जोड्ने दुईवटा झोलुङ्गे पुल पूरै बगाएको छ। गण्डकी गाउँपालिकाको धवादीघाट र इटारबाट धादिङको चौकीटार जोड्ने दुवै पुल बाढीले बगाएको हो। सिलिङटार र चितवनको कुरिनटार जोड्ने झोलुङ्गे पुल पनि पूर्ण रूपमा बिग्रिएको श्रेष्ठले बताए। यसबाहेक फिस्लिङ, हिक्लुङघाट र बेनीघाट जोड्ने पुलमा पनि बाढीले क्षति पुर्‍याएको छ।

यसैगरी, बाढी गण्डकी गाउँपालिकाको बुटारमा बन्दै गरेको सुपर त्रिशूली जलविद्युत् आयोजनाभित्र पनि पसेको छ। आयोजनाका निरञ्जन रेग्मीका अनुसार त्यहाँका मजदुर र मेसिनहरूलाई बेलैमा सुरक्षित ठाउँमा सारिएको छ।