२७ भदौ २०८३, शनिबार
12 September 2026, Saturday

रसुवा बाढी: उद्धार र राहतमा सरकारको सम्पूर्ण ध्यान, प्रधानमन्त्री शाहको सम्बोधन

रसुवा बाढी: उद्धार र राहतमा सरकारको सम्पूर्ण ध्यान, प्रधानमन्त्री शाहको सम्बोधन

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको जनधनको क्षतिप्रति प्रधानमन्त्री बालेन्द्र शाहले दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत देशवासीलाई सम्बोधन गर्दै उनले उद्धार, खोजी र राहतको कामलाई प्रभावकारी बनाउन सरकारका सबै संयन्त्र परिचालन गरिएको बताए। बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली दिँदै उनले घाइतेहरूको सम्पूर्ण उपचार सरकारले गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रधानमन्त्री शाहका अनुसार बाढीपछि बसेका विभिन्न सरकारी निकायका आकस्मिक बैठकले उद्धार कार्यलाई तीव्र बनाउने निर्णय गरेका छन्। अहिले प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन्। सेनाको हेलिकप्टरबाट धेरै मानिसको उद्धार गरेर उपचारका लागि काठमाडौँ ल्याइएको उनले जानकारी दिए। घाइतेको निःशुल्क उपचार गर्न काठमाडौँका ठूला अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ भने प्रभावित ठाउँमा डाक्टर, एम्बुलेन्स र आवश्यक स्वास्थ्य सामग्री पठाइएको छ।

मानिसको ज्यान बचाउने, बेपत्ताको खोजी गर्ने र घरबारविहीनलाई राहत दिने काम सरकारको पहिलो प्राथमिकता भएको उनले स्पष्ट पारे। बाढीले धेरै असर गरेका नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड लगायत धादिङ र गोरखाका विभिन्न ठाउँमा खाना, पानी र बस्ने व्यवस्था तत्काल मिलाइने उनले बताए।

भत्किएका सडक, पुल र बिजुलीका संरचना छिट्टै बनाइने र विस्थापितलाई सुरक्षित ठाउँमा सारिने उनले जानकारी दिए। विपद्को बेला नआत्तिन प्रभावित नागरिकलाई आग्रह गर्दै उनले राहत र उद्धारमा सहयोग गर्न सबै सङ्घसंस्था, युवा र आम नागरिकलाई आह्वान गरेका छन्।