न्युयोर्कमा गाडीको ठक्करबाट नर्सको मृत्यु, चालक फरार
- १६ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- न्युयोर्कस्थित ब्रुकलिनमा ड्युटी सकेर घर फर्किँदै गरेकी एक नर्सको गाडीको ठक्करबाट ज्यान गएको छ। शनिबार बिहान सनसेट पार्क क्षेत्रमा २८ वर्षीया जियायी झेङलाई गाडीले ठक्कर दिएर चालक फरार भएका हुन्।
प्रहरीका अनुसार तीब्र गतिमा आएको एउटा कारले रातो बत्ती बलिरहेको बेला बाटो काट्दै गरेकी झेङलाई कडा ठक्कर दिएको थियो। ठक्करबाट उनी हुत्तिएर हाइवेको पिलरमा ठोक्किएकी थिइन्। गम्भीर घाइते उनलाई उनैले काम गर्ने एनवाइयू ल्याङ्गोन अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु भयो।
घटना भएको चार दिन बितिसक्दा पनि प्रहरीले चालकलाई पक्राउ गर्न सकेको छैन। सिसिटिभी फुटेजको आधारमा फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनका सहकर्मीले सधैं हँसिली रहने झेङको मृत्युले आफूहरु स्तब्ध भएको बताए। स्थानीयले उक्त चोकमा चालकहरुले निकै लापरवाही गरेर गाडी चलाउने भएकाले बाटो काट्न सधैं जोखिमपूर्ण हुने बताएका छन्।