भोटेकोशी बाढी: १३५७ को शव भेटियो, ५३ सयभन्दा बढी अझै बेपत्ता
- २३ भदौ २०८३
- १ मिनेटको पढाई
काठमाडौं- रसुवालाई केन्द्रबिन्दु बनाएर आएको भोटेकोशी बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३ सय ५७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ २३ गते दिउँसोसम्म सबैभन्दा धेरै चितवनमा ३६३ जनाको शव भेटिएको छ। यस्तै, नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ।
अहिलेसम्म १०२ जनाको मात्र पहिचान खुलेको छ। बाँकी मृतकको पहिचान गर्न डिएनए परीक्षणका लागि नमुना दिन प्राधिकरणले आफन्तलाई आग्रह गरेको छ। बाढीमा परेर अझै ५ हजार ३ सय २६ जना हराइरहेका छन्। रसुवामा मात्रै २ हजार ८ सय ६० जना बेपत्ता छन्। हराउनेमा ५ सय ८७ विदेशी पर्यटक, सुरक्षाकर्मी र सरकारी कर्मचारीसमेत छन्।
हालसम्म १३ हजार ५ सय ८३ जनाको उद्धार गरिएको छ। बाढीमा घाइते भएका ६ हजार ८ सय २७ मध्ये धेरैजसो उपचारपछि घर फर्किएका छन् भने ३ सय २७ जनाको अस्पतालमा उपचार भइरहेको छ। घरबारविहीन भएका ३ हजार ५ सय ३३ जनालाई ३९ वटा अस्थायी आश्रयस्थलमा राखिएको छ।
उद्धार र राहतका लागि २१ हजारभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् भने हेलिकप्टरबाट १४ सयभन्दा बढी उडान भएको छ। सरकारले राहतस्वरुप रसुवा र नुवाकोटलाई १–१ करोड तथा धादिङलाई ५० लाख रुपैयाँ दिएको छ। अन्य १५ प्रभावित पालिकाका लागि १३ करोड ५० लाख छुट्याइएको छ। प्रभावित क्षेत्रमा विस्तारै बिजुली बल्न थालेको छ भने खाद्यान्न र ग्यास वितरण भइरहेको छ।