टर्कीको अन्टाल्यामा भीषण डढेलो, धुवाँले निसास्सिएर एकको मृत्यु
- २५ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- टर्कीको दक्षिणी पर्यटकीय प्रान्त अन्टाल्यामा भीषण डढेलो फैलिएको छ। आगोको बाक्लो धुवाँले निसास्सिएर अक्सु जिल्लाका एक जनाको मृत्यु भएको छ। धुवाँका कारण हृदयाघात भएर उनको ज्यान गएको अक्सुका मेयर इसा यिल्दिरिमले बताएका छन्।
सोमबार साँझ अक्सुको जंगलबाट सुरु भएको आगो तीव्र हावाका कारण छिमेकी केपेज जिल्लासम्म पुगेको छ। हावाहुरीले आगो बस्तीतर्फ धकेलेपछि अधिकारीहरूले कम्तीमा २५० घर खाली गराएका छन्। जोखिममा परेका दुवै जिल्लाका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।
आगो नियन्त्रणमा लिन मंगलबार बिहानैदेखि ५ वटा विमान, १० वटा हेलिकप्टर, ११० दमकल र ६ सयभन्दा बढी अग्निनियन्त्रक खटिएका छन्। आगो मानव बस्तीमा पस्न नदिन सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दा पनि रातभर खटिए।
जोखिम बढेपछि अन्टाल्या र छिमेकी प्रान्त इस्पार्टा जोड्ने मुख्य राजमार्ग बन्द गरिएको छ। आगलागीले गर्दा प्रभावित क्षेत्रका २ हजारभन्दा बढी घरमा बिजुली पूर्ण रूपमा बन्द भएको छ।
आगामी नोभेम्बरमा यही सहरमा ३१ औँ संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) हुँदैछ। विश्वभरका नेताहरू भेला हुने यो सम्मेलनको तयारी भइरहँदा फैलिएको डढेलोले कार्यक्रमलाई असर गर्न सक्ने देखिएको छ।