२५ भदौ २०८३, बिहिबार
10 September 2026, Thursday

कतारमा महँगा बाज र सिकार प्रदर्शनी सुरु

कतारमा महँगा बाज र सिकार प्रदर्शनी सुरु

न्युयोर्क- कुनै समय अरबमा सिकार गर्न पालिने बाज अहिले शान र प्रतिष्ठाको प्रतीक बनेका छन्। यही पुरानो परम्परालाई नयाँ प्रविधिसँग जोड्दै कतारको दोहामा १० औँ अन्तर्राष्ट्रिय सिकार तथा बाज प्रदर्शनी ‘सहैल २०२६’ सुरु भएको छ।

मंगलबारदेखि कतारा सांस्कृतिक गाउँमा सुरु भएको यो मेला सेप्टेम्बर १२ सम्म चल्नेछ। प्रदर्शनीमा १५ देशका १५८ भन्दा बढी कम्पनीहरू सहभागी छन्। यहाँ करोडौँ मूल्य पर्ने बाज, मरुभूमिमा कुद्ने अत्याधुनिक गाडी र सिकारका सामग्रीहरू राखिएका छन्।

मेलामा बाजका विभिन्न प्रजाति, परम्परागत छालाका सामान र बाज कहाँ पुग्यो भनेर पत्ता लगाउने आधुनिक प्रविधि देख्न सकिन्छ। बाजपालन अब संस्कृति मात्रै रहेन, यो दौड र सौन्दर्य प्रतियोगितासँगै ठूलो व्यापार बनेको छ। मेलामा बाजको उपचार गर्ने क्लिनिक, प्रजनन केन्द्र र सफारी गाडीका व्यवसायीहरू पनि उपस्थित छन्।

आयोजक समितिका अध्यक्ष खालिद बिन इब्राहिम अल सुलतीले पुर्खाको यो इतिहासलाई सम्झनामा मात्र सीमित राख्न नचाहेको बताए। उनले मौलिक परम्परालाई नयाँ पुस्तासँग जोडेर गर्वका साथ बचाउने उद्देश्य रहेको प्रष्ट पारे।