२५ भदौ २०८३, बिहिबार
10 September 2026, Thursday

हङकङमा ११ औं बीआरआई शिखर सम्मेलन सुरु: पहिलो दिनमै ३२ सम्झौतामा हस्ताक्षर

हङकङमा ११ औं बीआरआई शिखर सम्मेलन सुरु: पहिलो दिनमै ३२ सम्झौतामा हस्ताक्षर

न्युयोर्क- विश्वमा भूराजनीतिक तनाव र आर्थिक विभाजन बढिरहेका बेला हङकङमा ११ औं ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) शिखर सम्मेलन सुरु भएको छ। विश्वका ७० देशका ६ हजारभन्दा धेरै उच्च अधिकारी र लगानीकर्ता यसमा सहभागी छन्। यो सम्मेलनले हङकङलाई विभाजित विश्व जोड्ने मुख्य आर्थिक केन्द्रका रूपमा प्रस्तुत गरेको छ।

हङकङका प्रमुख कार्यकारी जोन लीले बीआरआई विगतको नक्सा मात्र नभएर भविष्यको साझा खाका भएको बताए। उनले अहिलेको अवस्थामा यसले सम्पर्क, सहकार्य र सहमति बढाउने दाबी गरे। तथ्यांक अनुसार गत वर्ष हङकङ र साझेदार देशहरूबीचको व्यापार १७ प्रतिशतले बढेर ३२३ अर्ब डलर पुगेको छ। करिब १ हजार ५ सय साझेदार कम्पनीले हङकङमा कार्यालय विस्तार गरेका छन् भने १०० भन्दा बढी कम्पनी त्यहाँको सेयर बजारमा सूचीकृत भएर पुँजी संकलन गरिरहेका छन्।

हङकङ व्यापार विकास परिषद्का अध्यक्ष फ्रेडरिक माले बीआरआई अब सञ्जाल निर्माणबाट अघि बढेर ठोस आर्थिक लाभ लिने चरणमा पुगेको बताए। उनले दक्षिण-पूर्वी एसिया, मध्यपूर्व, अफ्रिका र ल्याटिन अमेरिकालाई नयाँ आर्थिक अवसरका क्षेत्रका रूपमा औंल्याए।

सम्मेलनको पहिलो दिनमै वित्त व्यवस्थापन, व्यावसायिक परामर्श र अत्याधुनिक पूर्वाधार निर्माणसँग सम्बन्धित ३२ वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ। यी सम्झौताले साझेदार देशहरूबीच प्रत्यक्ष लगानी र व्यापारलाई थप सहज बनाउने विश्वास गरिएको छ।