चीनमा कार्गो जहाजमा आगलागी: २० जनाको मृत्यु, ५ बेपत्ता
- २५ भदौ २०८३
- १ मिनेटको पढाई
चीन- चीनको छिङदाओस्थित बन्दरगाहमा मर्मतका लागि राखिएको एउटा विदेशी कार्गो जहाजमा आगो लाग्दा २० जनाको मृत्यु भएको छ। आगलागीमा परेर ५ जना बेपत्ता भएका छन् भने अन्य ५ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार लाइबेरियाको झण्डा राखिएको ‘ओशन मेलोडी’ नामक उक्त जहाजमा जम्मा ४२ जना कर्मचारी थिए। तीमध्ये १७ जनालाई सकुशल बाहिर निकालिएको छ। बिहान सवा ११ बजेतिर सुरु भएको आगो दिउँसो साढे २ बजेतिर मात्र नियन्त्रणमा आएको थियो। स्थानीयले जहाजबाट बाक्लो धुवाँ निस्किएको तर पड्किएको आवाज भने नसुनेको बताएका छन्।
चिनियाँ राष्ट्रपति सी जिनपिङले घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल खोज तथा उद्धारमा खटिन निर्देशन दिएका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न र भविष्यमा यस्ता दुर्घटना हुन नदिन सम्बन्धित सबैलाई सचेत गराएका छन्।