इतिहासमै सबैभन्दा तातो महिना बन्यो अगस्ट, युरोपमा गर्मीले ३२ हजारको ज्यान गयो
- २५ भदौ २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- युरोपेली सङ्घको जलवायु अनुगमन संस्था कोपर्निकसले गत अगस्ट महिनालाई विश्वकै सबैभन्दा तातो महिना भएको बताएको छ। अगस्टमा विश्वको औसत तापक्रम १६.९६ डिग्री सेल्सियस पुगेको थियो। यो तापक्रम गत वर्षको जुलाईकै हाराहारीमा रहेकाले यी दुवै महिनालाई हालसम्मकै सबैभन्दा तातो मानिएको छ।
कोपर्निकसकी सामन्था बर्गेसले पछिल्लो एक लाख वर्षमा मानिसले यति धेरै गर्मी नदेखेको बताइन्। वैज्ञानिकहरूका अनुसार कोइला, तेल र ग्यास जस्ता इन्धनको अत्यधिक प्रयोगले पृथ्वीको तापक्रम बढिरहेको छ। यसका साथै, समुद्री सतहको तापक्रम पनि लगातार तीन महिना उच्च विन्दुमा पुगेको छ, जसले समुद्री जीव र प्राकृतिक संरचनामा गम्भीर असर पारिरहेको छ।
यस वर्षको अत्यधिक गर्मीले युरोप र अमेरिकामा ठूलो असर गरेको छ। पश्चिमी युरोपमा गर्मीका कारण नदी सुक्ने, जङ्गलमा आगो लाग्ने र विद्यालय बन्द गर्नुपर्ने अवस्था आयो। जुलाईको मध्यदेखि अगस्टको मध्यसम्म युरोपमा अत्यधिक गर्मीकै कारण करिब ३२ हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ। जीवाश्म इन्धनको प्रयोग नघटाए जलवायु सङ्कट अझै भयानक हुने संयुक्त राष्ट्रसङ्घ र वैज्ञानिकहरूले चेतावनी दिएका छन्।