हिमाल जोगाउन राष्ट्रसंघमा प्रधानमन्त्री वालेन्द्रको प्रस्ताव: नेपाल, भारत र चीन मिल्नुपर्छ
- ०९ अशोज २०८३
- १ मिनेटको पढाई
न्युयोर्क- संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी–त्रिशूली विपत्तिलाई हिमाली जलवायु परिवर्तनको ठूलो चेतावनीका रूपमा प्रस्तुत गरे। जलवायु संकटले कुनै देशको सीमा नचिन्ने भन्दै उनले हिमाल जोगाउन नेपाल, भारत र चीन मिलेर काम गर्नुपर्ने बताए।
हिमालमा बढ्दो जोखिम कम गर्न उनले तीन देशको नेतृत्वमा ‘हिमालय जलवायु संयन्त्र’ बनाउन प्रस्ताव राखे। यो संयन्त्र बनेमा हिमतालको निगरानी गर्न, पूर्वसूचना दिन र विपद्मा एकअर्कालाई सहयोग गर्न सजिलो हुने उनले बताए। बाढी र हिमनदीले भिसा लगाएर यात्रा नगर्ने भन्दै उनले सबै देश मिल्नुको विकल्प नभएको स्पष्ट पारे।
नेपालले विश्वमा प्रदूषण कम गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको उनले बताए। “यो संकट हामीले बनाएका होइनौँ, तर यसको मूल्य हामीले चुकाइरहेका छौँ,” उनले भने। धेरै प्रदूषण गर्ने र धनी देशले यसको बढी जिम्मेवारी लिनुपर्नेमा उनले जोड दिए।
साथै, विश्वको वितरण प्रणालीप्रति प्रश्न गर्दै उनले युद्धका हतियार सजिलै एक देशबाट अर्को देश पुग्ने तर किसानले पैसा तिर्दा पनि मल र इन्धन नपाउने अवस्था रहेको बताए। उनले भने, “हामीले युद्धका लागि सजिलो र खानाका लागि अस्तव्यस्त ढुवानी प्रणाली बनाएका छौँ।”