१४ अशोज २०८३, बुधबार
30 September 2026, Wednesday

जागिरको खोजीमा हुनुहुन्छ? न्युयोर्कमा खुल्दैछ नयाँ रोजगार केन्द्र

जागिरको खोजीमा हुनुहुन्छ? न्युयोर्कमा खुल्दैछ नयाँ रोजगार केन्द्र

न्युयोर्क- न्युयोर्क सहरले सरकारी सेवामा जागिर खोज्नेहरूका लागि नयाँ रोजगार केन्द्र सञ्चालनमा ल्याएको छ। म्यानहटनको २ लाफाएट स्ट्रिटमा रहेको यो केन्द्र आउँदो अक्टोबर ५ सोमबारदेखि औपचारिक रूपमा सबैका लागि खुला हुँदैछ। यो केन्द्र बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म खुला रहनेछ।

मेयर जोहरान मामदानीले सोमबार यसको घोषणा गरे। सबै न्युयोर्कवासीले राम्रो जागिर पाउने र आफ्नो सहरको सेवा गर्ने अवसर पाउनुपर्ने उनले बताए। सरकारी सेवामा प्रवेश गर्न अब गाह्रो हुन नहुने उनको भनाइ छ। साना व्यवसाय सेवा र नगरव्यापी प्रशासनिक सेवा विभाग मिलेर खाली रहेको सरकारी भवनलाई यो रोजगार केन्द्रमा परिणत गरेका हुन्।

यस केन्द्रले न्युयोर्कवासीलाई सहरका सरकारी निकायमा जागिर पाउन मद्दत गर्नेछ। यहाँका कर्मचारीहरूले तपाइलाई खाली पदहरू खोज्न, आवेदन फारम तयार पार्न र रोजगारदाता निकायहरूसँग प्रत्यक्ष सम्पर्क गराउन सहयोग गर्नेछन्। यसका साथै सरकारी जागिर खोज्न, आवेदन दिन र आवश्यक प्रवेश परीक्षाको तयारी गर्न समेत यहाँबाट अभिमुखीकरण सेवा लिन सकिन्छ।

केन्द्रमा विभिन्न निकायसँग प्रत्यक्ष अन्तर्वार्ता दिने र तत्काल जागिर पाउने अवसर सहितका रोजगार मेलाहरू पनि आयोजना हुनेछन्। सरकारी सेवामा कसरी प्रवेश गर्ने भनेर सिकाउन उपयोगी तालिम र कार्यशालाहरू सञ्चालन हुनेछन्। यसबाहेक व्यावसायिक विकास, सञ्जाल विस्तार र विभिन्न कार्यक्रमहरूको लागि एउटा खुला सामुदायिक ठाउँ पनि बनाइएको छ, जहाँ विभिन्न कला प्रदर्शनीहरू पनि भइरहनेछन्।