कर्नेल विश्वविद्यालय सामूहिक बलात्कार प्रकरण: न्यूयोर्ककी गभर्नरद्वारा अनुसन्धानको आलोचना, विशेष अभियोजक नियुक्त
- १७ अशोज २०८३
- २ मिनेटको पढाई
न्यूयोर्क- न्यूयोर्ककी गभर्नर क्याथी होचुलले प्रतिष्ठित कर्नेल विश्वविद्यालयमा सन् २०२४ मा भएको भनिएको सामूहिक बलात्कार प्रकरणको अनुसन्धानमा गम्भीर लापरवाही भएको भन्दै कडा आलोचना गरेकी छन्। यस घटनाको छानबिन गर्न उनले न्यूयोर्ककी महान्यायाधिवक्ता (एटर्नी जनरल) लेटिसिया जेम्सलाई विशेष अभियोजकको रूपमा नियुक्त गरेकी छन्।
गभर्नर होचुलका अनुसार, क्याम्पस प्रहरी र स्थानीय सरकारी वकिलले पीडितलाई न्याय दिलाउन र सुरक्षा दिन पूर्ण रूपमा असफल भएका छन्। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले स्थानीय जिल्ला न्यायाधिवक्ता (डिस्ट्रिक्ट एटर्नी) म्याथ्यु भ्यान हाउटेनको कार्यक्षमतामाथि आफूले विश्वास गुमाएको बताइन्। अनुसन्धानमा देखिएका ‘चिन्ताजनक’ विवरणहरूबारे बोल्दै उनले प्रश्न गरिन्, “कुन दुनियाँमा जिल्ला न्यायाधिवक्ताले पीडित वा घटनामा संलग्न कसैसँग सोधपुछसम्म गर्दैनन्, वा बयानको पूर्ण प्रतिलिपि माग्दैनन्?”
‘जेन डो’ (परिचय गोप्य राखिएकी) नाम दिइएकी ती महिलाले सन् २०२४ मा आफूलाई इच्छाविपरीत लागुऔषध दिएर यौनसम्पर्क गर्न बाध्य पारिएको आरोप लगाएकी थिइन्। उनले प्रहरीलाई घटनाबारे विस्तृत रूपमा बताएको भए पनि, प्रहरीले सरकारी वकिललाई बुझाएको प्रतिवेदनमा ती कुराहरू समावेश नै नगरिएको गभर्नर होचुलले खुलासा गरेकी छन्।
प्रमाण नपुगेको भन्दै सन् २०२४ मा कुनै पनि मुद्दा नचलाई यो अनुसन्धान बन्द गरिएको थियो। तर, गत सेप्टेम्बर (सन् २०२६) मा पीडितले ‘ची फी’ (Chi Phi) भ्रातृत्व (फ्राटर्निटी) का ७ जना सदस्यहरू र कर्नेल विश्वविद्यालयविरुद्ध नयाँ मुद्दा दायर गरेपछि जिल्ला न्यायाधिवक्ताले पुनः अनुसन्धान सुरु गरेका थिए। यो नयाँ मुद्दासँगै घटनाले अमेरिकाभर राष्ट्रिय चर्चा पाएको छ र क्याम्पसहरूमा विरोध प्रदर्शन भइरहेका छन्।
यस प्रकरणको जिम्मा पाएकी विशेष अभियोजक लेटिसिया जेम्सले घटनाको विस्तृत अनुसन्धान गर्न समय लाग्ने र प्रमाण जुटाउने तथा सोधपुछ गर्ने काम भइरहेको जानकारी दिएकी छन्।
यसैबीच, कर्नेल विश्वविद्यालयले आफ्नो बचाउ गर्दै अनुसन्धान सुरु गरेको र आरोप लागेको उक्त ‘ची फी’ भ्रातृत्वलाई क्याम्पसमा प्रतिबन्ध लगाउँदै अन्य अनुशासनात्मक कारबाहीसमेत गरेको जनाएको छ। साथै, विश्वविद्यालयले महान्यायाधिवक्ता जेम्सको नियुक्तिलाई समर्थन गर्दै यस घटनाको स्वतन्त्र र बाह्य समीक्षाप्रति आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ।