११ कार्तिक २०८३, बुधबार
28 October 2026, Wednesday

विश्व हिन्दु कलाकार मञ्चद्वारा दशैँ–तिहार शुभकामना कार्यक्रम सम्पन्न, विशिष्ट व्यक्तित्वहरू सम्मानित

विश्व हिन्दु कलाकार मञ्चद्वारा दशैँ–तिहार शुभकामना कार्यक्रम सम्पन्न, विशिष्ट व्यक्तित्वहरू सम्मानित

विश्व हिन्दु कलाकार मञ्च नेपालले दशैँ र तिहारको अवसर पारेर शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। नेपाली चलचित्र इतिहासकी प्रथम नायिका भुवन चन्दको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा कला, चलचित्र, संगीत र समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याउने विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको हो।

कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी रवीन्द्र खड्का र शर्मिला मल्ल, निर्देशक शेरबहादुर डिसी तथा इन्जिनियर एवं गायक धर्मराज पोखरेललाई सम्मान गरियो। यसैगरी, समाजसेवी तथा व्यवसायीहरू नारायण देवकोटा, मदन कुमार केसी, पुष्कर न्यौपाने र विनोद महतो लगायत पनि सम्मानित भए।

कार्यक्रममा सौन्दर्यविद् मञ्जु कार्की पाण्डेय, युवा गायक प्रचण्ड राज राई, सञ्चारकर्मी गिरीप्रसाद भुसाल, गीतकार गायत्री थापा र समाजसेवी नितु कोइरालालाई पनि सम्मान गरिएको थियो। साथै, संस्थाका सम्पूर्ण आजीवन सदस्यहरूको योगदानको पनि कदर गरिएको थियो।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, विश्व हिन्दु युवा सङ्घका अध्यक्ष ऋषिकेश जंग शाह, आचार्य सोनम लामा लगायत विशिष्ट अतिथिको रूपमा उपस्थित कार्यक्रममा कला, विज्ञान र पूर्वीय दर्शनको महत्त्वबारे चर्चा गरिएको थियो।

कार्यक्रममा संस्थाका उपाध्यक्ष नरहरि प्रेमीले आफ्नो भनाइ राखे भने अन्य कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका थिए। कार्यक्रमको अन्त्यमा मञ्चका अध्यक्ष शिवन पोखरेलले उपस्थित सबैलाई धन्यवाद दिँदै कला र पूर्वीय दर्शन मार्फत शान्ति र सद्भाव फैलाउने संस्थाको अभियानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अगाडि बढाउने बताए।